विभाजनको संघारमा नागरिक उन्मुक्ति पार्टी!

जनकपुरधाम- स्थापना भएको दुई वर्ष नबित्दै नागरिक उन्मुक्ति पार्टी विभाजनको संघारमा पुगेको छ।

पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवाद सहतमा पुगेपछि नागरिक उन्मुक्ति पार्टी विभाजनको संघारमा पुगेको हो।

सत्ता समीकरण फेरिएर बनेको सरकारलाई दिएको समर्थनका विषयमा रेशम र उनकी श्रीमती रञ्जिताबीच विवाद छ।

रेशम सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएर केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्न नहुने पक्षमा छन्।

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिइसकेकी रञ्जिता भने सरकारमा सहभागी हुनुपर्ने अडानमा छिन्।

यही विषयमा छलफल गर्न सोमबार बोलाइएको संस्थापक सदस्यहरूको बैठकमा कुटाकुटको स्थिति सिर्जना भयो। अनामनगरस्थित पार्टी कार्यालयमा दुवै पक्षबीच कुटाकुट भएको हो।

रञ्जिता पक्षका नेताहरूले पार्टी संरक्षक रेशमकै अगाडि आफूहरूमाथि हातपात भएको आरोप लगाएका छन्।

पार्टी कार्यालयमा कुटाकुटको अवस्था सिर्जना भएपछि सोमबारको बैठक स्थगित भएर यही २३ र २४ गते केन्द्रीय समिति बैठक बोलाइएको छ।

रेशमले केन्द्रीय समितिको बैठकले गर्ने निर्णय सबैले स्वीकार गर्ने बताएका छन्।

संस्थापक नेता रेशम भने जसरी पनि सत्ताको हालिमुहाली गर्नेको पछाडि आफूहरू नलाग्ने उल्लेख गरेका छन्।

‘पार्टीकोे बैठकमा कसले कसलाई हातपात ग¥यो, ज्यानमार्ने धम्की कसले दियो, सुन्ने÷हेर्ने साथीहरू साक्षी छन्। जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरूको पछाडि हामी लाग्दैनौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘अनावश्यक हल्लाको पछि नलागौं। चैत २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ, त्यही स्वीकार्ने हो। पार्टी कसैको पेवा होइन, पहिचानवादीहरूको साझा आवाज हो।’

जेलमा छँदा संरक्षक रहेका रेशम पछिल्लो समय पार्टी अध्यक्षमा दाबी गरेका थिए। अध्यक्ष पदलाई लिएर सुरू भएको रेशम र रञ्जिताबीचको विवाद निर्वाचन आयोगसम्म पुगेको थियो।

निर्वाचन आयोगले रेशमलाई अध्यक्षमा मान्यता नदिएपछि नागरिक उन्मुक्ति पार्टीमा श्रीमान श्रीमतीबीचको विवाद थप उत्कर्षमा पुगेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *