राष्ट्रियसभा अध्यक्षमाथि अडिएको ‘गठबन्धन–भविष्य’

काठमाडौं- राष्ट्रियसभाको अध्यक्ष आफूले पाउनेमा ढुक्क रहेको नेपाली कांग्रेस सत्ता साझेदार दल माओवादी केन्द्रले गरेको निर्णयपछि सकसमा परेको छ।

राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने माओवादी केन्द्रले औपचारिक निर्णय गरेपछि कांग्रेसलाई सकस परेको हो।

बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हो।

स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरूले राष्ट्रियसभाको ठूलो दल भएकाले अध्यक्ष पद छोड्न नहुने धारणा राखेका थिए।

स्थायी कमिटीको यो निर्णयसँगै आगामी फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको चुनावमा माओवादीले उम्मेदवारी दिने लगभग पक्का भएको छ।

र, अध्यक्ष पदमा उम्मेदवारी दिने माओवादीको यो निर्णयपछि सत्ता गठबन्धन खास गरेर कांग्रेस र माओवादीबीच ‘खटपट’ हुने सम्भावनालाई पनि बढाइदिएको छ।

अध्यक्ष पद ताक्दै कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा सदस्यमा अघि सारेको थियो।

कोसी प्रदेसबाट गठबन्धनको साझा उम्मेदवार सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित पनि भए। तर, गठबन्धनकै माओवादी केन्द्रकी चम्पादेवी कार्की पराजित भइन्।

कार्कीलाई एमालेकी रुक्मिणी कोइरालाले पराजित गरेका थिइन्। कांग्रेसले ‘फ्लोर क्रस’ गरेपछि आफ्नो उम्मेदवार पराजित भएको भन्दै कांग्रेसप्रति माओवादी संशकित बनेको छ।

हालै सम्पन्न कांग्रेस महासमिति बैठकमा आगामी चुनावमा गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्तावले माओवादीलाई थप सशंकित बनाइदिएको छ।

यहाँसम्म कि माओवादी स्थायी कमिटी बैठकमा पनि कांग्रेस महासमिति बैठकमा प्रस्तुत भएको यो एजेन्डाले प्रवेश पायो।

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्न ६ सदस्यीय संवैधानिक परिषदको सदस्यसमेत हुने भएकाले दुवै दलले राष्ट्रियसभा अध्यक्ष आफ्नो दलका नेतालाई बनाउन चाहेका छन्।

दुवै दलले राष्ट्रियसभा अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेपछि गठबन्धनको भविष्य संकटमा परेको हो कि भन्ने आशंका गर्न थालिएको छ।

तर, राष्ट्रियसभा अध्यक्षमा आ–आफ्नो दाबेदारीलाई कांग्रेस र माओवादी दुवैले स्वाभाविक बताएको छ।

कांग्रेसका नेताहरूले त अध्यक्ष आफूहरूले पाउने सहमति राष्ट्रपति चुनावताका नै भएको दाबी गरेका छन्। सिटौलालाई अध्यक्ष बनाउने माओवादीसँगको समझदारीअनुसार नै राष्ट्रियसभामा अगाडि सारिएको कांग्रेस नेताहरूको भनाइ छ।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा गठबन्धनको सबैभन्दा ठूलो दल भएर पनि कार्यकारी पद नपाएकोले राष्ट्रियसभा अध्यक्षमा आफूहरूको दाबेदारी स्वाभाविक रहेको बताउँछन्।

‘प्रधानमन्त्री माओवादीको हुनहुन्छ, सभामुख एमालेबाट हुनुहुन्छ। कार्यकारी पदमा हाम्रो प्रतिनिधित्व नै भएन। फेरि अर्को कुरा संवैधानिक परिषदमा पनि हाम्रो प्रतिनिधित्व छैन, त्यसका लागि पनि हाम्रो दाबी स्वाभाविक हो,’ विश्वकर्माले भने।

माओवादीको भने आफ्नै चिन्ता छ। गठबन्धनमा भएको समझदारीअनुसार अबको १० महिनापछि माओवादीले प्रधानमन्त्री छोड्नुपर्ने हुन्छ। सरकारको नेतृत्वबाट हट्नैपरे आफ्नो भागमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख केही पनि नहुने चिन्ता माओवादीको छ।

त्यसैले माओवादी राष्ट्रियसभा अध्यक्ष लिन चाहिरहेको छ।

कांग्रेस र माओवादी दुवै आ–आफ्नो अडानमा अडिरहे २९ फागुनमा दुवै दलका उम्मेदवार आमने–सामने हुने छन् नै, गठबन्धनमा पनि असर पर्ने निश्चित छ।

माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटा भने माओवादीले उम्मेदवारी दिँदैमा गठबन्धनमा असर नपर्ने दाबी गर्छन्।

बुधबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने,‘राष्ट्रियसभामा उम्मेदवारी दिने निर्णय भएको छ। हामीले उम्मेदवारी दिँदैमा गठबन्धनमा कुनै असर पर्दैन।’

राष्ट्रियसभा अध्यक्षमा दुवै दलले आफ्नो उम्मेदवारलाई अघि सारे एक्लै जित्ने संख्या कुनै दलसँग हुने छैन।

राष्ट्रियसभाको पछिल्लो समीकरणअनुसार १९ सदस्यसहित माओवादी केन्द्र पहिलो दलको हैसियतमा छ। त्यस्तै १६ सदस्यसहित कांग्रेस दोस्रो स्थानमा रहँदा एमालेका ९ सदस्य छन्।

नेकपा (एकीकृत समाजवादी) का ८, जसपाका २ र लोकतान्त्रिक समाजवादीका १ सदस्य छन्।

अलग भएर लडेको अवस्थामा अध्यक्ष पद आफ्नो भागमा पार्न कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग तालमेल गर्नुपर्ने बाध्यता हुनेछ।

यद्यपि कांग्रेस र माआवादीका नेताहरू राष्ट्रियसभा अध्यक्षको निर्वाचनसम्बन्धी विषयले गठबन्धन संकटमा नपर्ने र चाँडै शीर्ष नेताहरू छलफल गरेर यो विषयलाई टुंग्याउने बताउँछन्।

कतिपयले सत्ता गठबन्धनभित्रको ‘खटपट’ बाट एमालेले फाइदा लिन खोजेको र माओवादी–एमाले निकटता बढेको विश्लेषण गरेका छन्।

एमालेका नेताहरू भने तत्काल माओवादी वा कांग्रेससँग तालमेलको सम्भावना नरहेको बताउँछन्।

यो पनि :

http://कांग्रेसको दाबीका बीच राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय

http://राष्ट्रियसभा अध्यक्ष : कांग्रेस–माओवादी ‘रस्साकस्सी’!

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *