राजनीतिक स्थिरताका लागि गठबन्धनको अभ्यास भइरहेको छ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकले पार्टीलाई थप सबल, सुदृढ र एकताबद्ध बनाएर लैजानोमा विश्वास व्यक्त गरेका छन्।

सोमबारदेखि ललितपुरको गोदाबरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरू भएको महासमिति बैठकमा उनले यस्तो बताएका हुन्।

महासमिति बैठकलाई देश र विदेशलेसमेत उत्साहपूर्वक नियालिरहेको बताउँदै देउवाले कांग्रेसलाई थप सबल, सुदृढ र एकताबद्ध बनाएर लैजानुपर्ने बताए।

उनले पार्टीमा निरन्तर क्रियाशील रही लोकतन्त्र स्थापना, पुनःस्थापना र रक्षाका लागि जेलनेल, निर्वासन, सर्वश्वहरणलगायतका दुःख कष्ट सहेर पार्टीलाई सुदृढ बनाउन प्रयत्नशील रहेका सबै नेता कार्यकर्ताको सम्मान गरे।

१४ महाधिवेशनमा समयअभावका कारण नीतिगत विषयमा दस्ताबेज प्रस्तुत गरी छलफल गर्न नपाइएको भन्दै उनले महासमिति बैठकले पार्टीका नीतिगत विषयमा छलफल गरी प्राप्त सुझावलाई समेटेर दस्ताबेज तयार गर्ने उल्लेख गरे।

देउवाले मुलुकको अहिलेको शासकीयस्वरूप कांग्रेसको मान्यताअनुसार रहेको प्रष्ट पारे।

संविधानले बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको उल्लेख गर्दै उनले यो शासकीयस्वरूप कांग्रेसको मान्यताअनुकूल रहेको बताए।

संविधानको रक्षा र सार्थक कार्यान्वयन गर्नु आजको मुख्य एजेन्डा भएको उनको भनाइ छ।

सभापति देउवाले सरकार निर्माणका लागि मात्रै नभएर मुलुकको राजनीतिक स्थिरताका लागि गठबन्धनको अभ्यास भइरहेको जिकिर गरे।

उनले भने, ‘अहिले मुलुकमा गठबन्धनको अभ्यास भइरहेको छ। यो सरकार निर्माणका लागि मात्रै बनेको होइन। केही समय पहिले प्रतिनिधिसभालाई विघटन गर्ने, मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र संविधानलाई जोखिममा पार्ने गतिविधि भयो। त्यस्ता गतिविधिविरूद्ध एकाकार भएर मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन गठबन्धन गर्नुपरेको हो।’

कांग्रेस सदैव संवाद, सहमति र सहकार्यको नीतिमा रहेको बताउँदै देउवाले राजनीतिक दलबीच हुने प्रतिस्पर्धा स्वाभाविक भएको उल्लेख गरे।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *