काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्षसहितका नेताहरू नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओली र एमाले उपाध्यक्ष विष्णु पौडेललाई साथ लिएर नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्।
फेरिएको राजनीतिक परिस्थितिमा एकीकृत समाजवादीलाई समेत गठबन्धन एवं सरकारमा सहभागी गराउने विषयमा उनीहरूबीच छलफल भइरहेको बताइएको छ।
कांग्रेसले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको तथा नयाँ गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन सकस परिरहेको बेला प्रचण्ड र ओलीसहितका नेताहरू एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई फकाउने प्रयासमा जुटेका हुन्।
सरकार तथा गठबन्धनमा सहभागी हुने लगायतका विषयमा छलफल भइरहेको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।
‘अहिलेको परिवर्तिन राजनीतकि सन्दर्भमा कुराकानी भइरहेको छ, हामी अझै ‘पर्खौ र हेरौं’ को अवस्थामा छौं,’ नेपालको सचिवालय स्रोतले भन्यो।
कांग्रेससँग सहकार्य तोडेर प्रचण्डले सोमबारमात्रै एमाले, रास्वपा र जसपासँग मिलेर नयाँ गठबन्धन बनाएका छन्।
प्रधानमन्त्री प्रचण्ड सोमबार पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर अध्यक्ष नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए।
Leave a Reply