काठमाडौं- सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।
पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको हो।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यसूची छ।
यसअघि मंगलबार बसेको बैठकमा धारणा राख्ने अधिकांश नेताले राष्ट्रियसभा अध्यक्ष आफूले लिनुपर्ने बताएका थिए।
राष्ट्रियसभामा ठूलो दल भएको हैसियतामा अध्यक्ष आफूहरूले पाउनुपर्ने उनीहरूको भनाइ थियो।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभा अध्यक्ष छाड्न नहुने धारणा अधिकांश स्थायी कमिटिी सदस्यले राखेको जानकारी दिए।
राष्ट्रियसभा अध्यक्ष पद आगामी फागुन २० गते रिक्त हुँदैछ। राष्ट्रियसभा अध्यक्ष पदका लागि अर्को सत्तारुढ दल नेपाली कांग्रेसले पनि दाबी गरेको छ।
कांग्रेस नेताहरूका अनुसार राष्ट्रियसभा अध्यक्ष पद आफूहरूले पाउने विषयमा गठबन्धनभित्र यसअघि नै सहमति भइसकेको छ।
प्रधानमन्त्री माओवादी र सभामुख एमालेको हिस्सामा रहेकाले राष्ट्रियसभा अध्यक्ष आफूहरूले पाउनुपर्ने दाबी कांग्रेसले गरेको छ।
राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेस र माओवादी दुवैले दाबी गरेपछि गठबन्धनमा फेरि एकपटक रस्साकस्सी हुने देखिएको छ।
माआवादी स्थायी कमिटी बैठकबाट नेताहरूको कार्यविभाजन गर्ने बताइए पनि त्यसबारेमा कुनै निर्णय हुनसकेको छैन।
आजको बैठकबाट कार्यविभाजनबारे निर्णय हुने सम्भावना रहेको नेताहरूले बताएका छन्।
Leave a Reply