माओवादी बैठक : महरालाई जिम्मेवारीविहीन बनाउन पदाधिकारीहरूको राय

काठमाडौं- नेकपा माओवादी केन्द्रका पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा छलफल भएको छ।

मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा महराका विषयमा छलफल भएको हो।

सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका महराका विषयमा छलफल भए पनि बैठकले ठोस निर्णय गरेको छैन।

बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी उपाध्यक्ष महराबारे छलफल भए पनि ठोस निर्णय हुन बाँकी रहेको बताए।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले विस्तृत छलफल नपाएको उनको भनाइ छ।

महराबारे अर्को बैठकले निर्णय लिने सापकोटाले बताए।

सुन तस्करी प्रकरणमा पक्राउ परेपछि महरालाई जिम्मेवारीविहीन बनाउने वा कसरी जाने भन्नेबारे छलफल केन्द्रित रहेको उनले बताए।

बैठकमा केही नेताले तत्काल निलम्बन गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए भने केहीले अदालतको निर्णय पर्खिनुपर्ने बताएका थिए।

सुन तस्करी प्रकरणमा पूर्वसभामुखसमेत रहेका महरलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो।

काठमाडौं जिल्ला अदालतले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

अदालतले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उनलाई अस्पतालमा राखेर अनुसन्धान गर्न आदेशसमेत दिएको छ।

अदालतको आदेशपछि महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

महराले आफू आठ प्रकारका औषधि खाइरहेकाले अस्पतालमा बस्न दिन माग गरेको आधारमा अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न भनेको हो।

उनलाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *