महासमिति बैठक : अन्तिम तयारीमा जुट्यो कांग्रेस

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ।

महासमिति बैठक सुरू हुन तीन दिन बाँकी छँदा कांग्रेसले तयारीलाई तीव्रता दिएको हो।

कांग्रेस महासमिति बैठक यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदाबरीमा हुँदैछ।

कांग्रेसले यो महासमिति बैठकलाई ‘नीति अधिवेशन’ का रूपमा लिएको छ। महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्न विभिन्न ९ उपसमिति गठन गरिएको छ।

महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी ढंगले सञ्चालन गर्न पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको छ।

महासमितिलाई सम्पन्न गर्न प्रचारप्रसार उपसमितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मालाई तोकेको छ।

त्यस्तै आवास समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य उदयशम्शेर राणा, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतलाई जिम्मेवारी दिइएको छ।

स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य उर्मिला नेपाल केसी, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य धना खतिवडा, आर्थिक उपसमितिको संयोजकमा केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा, प्रदेस समन्वय उपसमितिको संयोजकमा बागमती प्रदेसका सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा ललितपुरका कांग्रेस सभापति जीतेन्द्र श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ।

स्वदेश तथा विदेशमा रहेका नेपालीले मात्रै नभइ मित्रराष्ट्रले समेत चासोका साथ हेरिरहेको महासमिति बैठक भव्य, सभ्य, व्यवस्थित र परिणामुखी बनाउनेगरी तयारी अगाडि बढाइएको कांग्रेसले जनाएको छ।

कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले सबै उपसमितिहरूले आफूले पाएको जिम्मेवारीअनुसार काम अगाडि बढाइसकेको जानकारी दिए।

फागुन ७ गते उदघाटनका दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तदान कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन गरिने कांग्रेसले जनाएको छ।

त्यस्तै सूचना, सञ्चार तथा प्रचार विभागले उत्पादन गरेका सामग्री बिक्री तथा वितरण केन्द्र राख्ने, नेपाली कांग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्दर्भिक विषयका पुस्तक बिक्रीवितरण कक्ष राख्ने, बैठक हलबाहिर विभिन्न चमेनास्थलको व्यवस्था गर्ने तयारी गरिएको छ।

महासमिति बैठकमा फागुन ६ देखि १० गतेसम्म मिडिया सेन्टर स्थापना गरिने, कार्यक्रम उदघाटन र समापनको प्रत्यक्ष प्रसारण गरिने, प्रत्येक दिन ३–३ घन्टामा सञ्चारमाध्यमलाई समाचार दिने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।

महासमिति बैठकमा देश तथा विदेशबाट दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ।

‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता! स्वतन्त्रता, न्याय र समानता!! नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सुरू हुन लागेको महासमिति बैठकमा देशभरका १६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्यले भाग लिनेछन्।

यस्तै पार्टीको भातृ संस्था, शुभेच्छुक संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत भाग लिने कांग्रेसले जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *