जनकपुरधाम- सात प्रदेसमध्ये सबैभन्दा कम कमाइ मधेस प्रदेसको बासिन्दाको हुने सम्भावना रहेको केन्द्रीय तथ्यांक कार्यालयले अनुमान गरेको छ।
केन्द्रीय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा कम कमाइ मधेस प्रदेसमा हुने देखिएको हो।
कार्यालयले प्रतिव्यक्ति आयजस्तै हरेक प्रदेसको कुल गार्हस्थ्य उत्पादनलाई प्रदेसको कुल जनसंख्याले भाग गरेर उक्त प्रदेसका मानिसहरूले हरेक वर्ष कति कमाइ गरेका छन् भनेर हेर्ने गरेको छ।
यो आर्थिक वर्षको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा कम मधेस प्रदेसको हुने प्रारम्भिक अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ।
त्यस्तै सबैभन्दा धेरै बागमती प्रदेसमा कुल गार्हस्थ्य उत्पादन हुने कार्यालयका अनुमान छ।
अमेरिकी डलरमा यो आर्थिक वर्ष बागमती प्रदेसको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २ हजार ४८४ छ भने मधेस प्रदेसको ८९२ हुने प्रारम्भिक अनुमान छ।
बागमती प्रदेसपछि धेरै कमाउने गण्डकी प्रदेसमा बसोबास गर्ने मानिसहरू छन्। यो प्रदेसको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५५७ डलर छ।
सातमध्ये पाँच प्रदेसका मानिसहरूको औसत कमाइ नेपालीहरूको औसत कमाइभन्दा न्यून छ।
कार्यालयका अनुसार नेपालभरिको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ४३४ डलर छ भने कोसी प्रदेसको १ हजार ३३६ डलर, लुम्बिनी प्रदेसको १ हजार १५९ डलर, सुदूरपश्चिम प्रदेसको १ हजार १११ डलर र कर्णालीको १ हजार ६६ डलर छ।
बागमती प्रदेसमा धेरै आय हुनुमा राजधानी केन्द्रित आर्थिक गतिविधि प्रमुख कारण रहेको विज्ञहरूको भनाइ छ।
सरकारी स्तरबाट मात्रै बजेट विनियोजन गरेरमात्र नभइ निजी क्षेत्रले पनि जलविद्युतदेखि अन्य क्षेत्रमा लगानी गरेकाले प्रतिव्यक्ति आय बढी भएको उनीहरूको भनाइ छ।
मधेस प्रदेसमा मानिसहरूको आम्दानी कम हुनुको प्रमुख कारण कृषिमा आश्रित ठूलो जनसंख्यालाई ठानिएको छ।
तथ्यांक कार्यालयका अनुसार पनि मधेसमा कृषिमा आश्रित मानिसहरूको संख्या सबैभन्दा धेरै देखिएको छ।
कार्यालयले गरेको कृषि गणनामा मधेस प्रदेसमा कृषि कामदारले पाउने ज्याला पनि अन्य प्रदेसको तुलनामा कम रहेको पाइएको थियो।
प्रदेस नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष भोगेन्द्र झा कुल गार्हस्थ्य उत्पादन नहुनुमा सुशासनको अभाव र स्रोतको असमान वितरणलाई पनि जिम्मेवार ठान्छन्।
केन्द्रीय तथ्यांक कार्यालयले यो वर्ष नेपालीहरूले १ हजार ४५६ अमेरिकी डलर झन्डै १ लाख ९५ हजार नेपाली रूपैयाँ औसत आय गरेको अनुमान गरेको छ।
तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार नेपालीहरूको औसत प्रतिमहिना आम्दानी झन्डै १६ हजार र प्रतिदिन ५ सय रूपैयाँ हुँछ।
तर, बागमती प्रदेसमा बस्ने मानिसको औसत वार्षिक कमाइ ३ लाख ३० हजारभन्दा बढी र मधेस प्रदेसवासीको १ लाख १८ हजारमात्रै हुने ठानिएको छ।
Leave a Reply