जनकपुरधाम- संघीयताको माग गर्दै दुईपटक भएको ‘मधेस विद्रोह’ को अग्रपंक्तिमा थिए, राजेन्द्र महतो।
मधेसी जनतामाथि राज्यबाट वर्षौंदेखि भइरहेको विभेद अन्त्यका लागि भएको त्यो आन्दोलननमा महतोको प्रमुख एजेन्डा थियो, मधेसवाद।
त्याबेला आन्दोलनको अग्रमोर्चामा देखिएका उनी वीरगञ्ज नाका बन्द गर्न आफैं धर्नामा बसे भने पूर्वमा प्रहरीको लाठी पनि खाए।
प्रहरीको लाठीबाट घाइते भएका महतो केही दिन अस्पताल पनि भर्ना भए।
मधेसवादलाई प्रमुख एजेन्डा बनाएर राजनीतिक गतिविधि अगाडि बढाउँदै आएका महतोलाई २०७४ सालमा भएको आमनिर्वाचनमा मधेसका जनताले पत्याए पनि।
महन्थ ठाकुरको तराई मधेस लोकतान्त्रिक पार्टीसहित ६ वटा मधेस केन्द्रित दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) बाट उनी धनुषा ३ मा चुनाव लडे।
मधेस आन्दोलन र मधेसवादकै जगमा चुनाव लडेका उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित पनि भए।
केही समयपछि राजपा र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बन्यो। तर, त्यो एकीकरण धेरै टिक्न सकेन।
महन्थहरू जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाए। केही वर्षदेखि लोसपामा आवद्ध महतोले अब अध्यक्ष ठाकुरसँगको सहकार्यलाई विराम दिएका छन्।
अर्थात, उनले लोसपा छाडेका छन्। र, भनेका छन्–अब मधेसवादको काम छैन। लोसपाबाट उत्पीडितहरू अधिकार सम्पन्न हुने कुरा पार लाग्नेवाला छैन।
केही वर्षअघिसम्म महतोलागि प्यारो ‘मधेसवाद’ अब कामविहीन भइसकेको छ।
‘मधेसवादको अब कुनै काम छैन, त्यो डिभाइड एन्ड रूल गर्ने मात्रै हो,’ सोमबार राष्ट्रियसभा गृहमा पत्रकार सम्मेलन गरेर महतोले भने,‘लोसपाबाट केही पार लाग्नेवाला छैन, मधेसवादले पनि केही हुँदैन। अबको हाम्रो अभियान स्वदेशवादका लागि अगाडि बढ्छ, स्वदेशवाद मधेसवादभन्द झनै ठूलो विषय हो नि!’
राष्ट्रियसभा गृहको हलमा ‘बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति’ का बहृत प्रशिक्षण कार्यक्रमका बीचमा पत्रकार सम्मेलन गरेका महतोले लोसपा छोडेको घोषणा गरे पनि नयाँ पार्टीको नाम भने भनेनन्।
अभियान र आन्दोलनबाट नयाँ पार्टीको नाम घोषणा हुने उनले बताए।
‘स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको अभियानमा अगाडि बढेका छौं, अभियान र आन्दोलनबाट साथीहरूले जे भन्न ुहुन्छ त्यही हिसाबले पार्टीको नाम राख्छौं,’ महताले थपे,‘यो अभियानमा जुट्न म मेरो पूर्वपार्टीसहित जसपा, कांग्रेसलाई पनि आह्वान गर्न चाहन्छु।’
लोसपा छोडेको घोषणा गरेका महतो आफ्नो पुरानो सदभावना पार्टी ब्युँताउन चाहेका छन्। केही समययता लोसपाभित्र ‘उकुसमुकुस’ मा परेका उनी पूर्वदेखि पश्चिमसम्मको दौडाहा गरिसकेका छन्।
यसबीचमा तराईका जिल्लाहरू पुगेर पुराना सदभावना पार्टीका नेता–कार्यकर्ताहरूसँग उनले गहन संवाद गरेका छन्।
महतोनिकट नेताहरूका अनुसार तत्कालै नयाँ पार्टीको घोषणा नभए पनि पुरानै सदभावना पार्टीबाट राजनीति अगाडि बढ्ने सम्भावना बढी छ।
‘लोसपामा बस्न सकिँदैन, त्यहाँ काम छैन,’ राष्ट्रियसभा गृहमा महतोनिकट एक नेताले भने,‘अब फेरि सदभावना पार्टी ब्युतिन्छ, त्यहीँबाट राजनीतिक गतिविधि अगाडि बढ्छ।’
यद्यपि महतोले भने नयाँ पार्टीको नामबारे केही बोलेका छैनन्। राष्ट्रियसभा गृहको हलमा मधेस प्रदेसका पूर्वमन्त्री रामनरेश राय यादवलगायत सदभावना पार्टीका केही पुराना नेताहरू पनि देखिएका थिए।
महतोले किन छोडे लोसपा?
गत मंसिरमा भएको चुनावमा महतो आफ्नै गृहजिल्ला सर्लाहीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडे।
प्रतिस्पर्धी थिए–पुराना सहकर्मी महिन्द्रराय यादव।लोसपाबाट उम्मेदवारी दिएका महतो र नेपाल समाजवादी पार्टीका उम्मेदवार थिए, महिन्द्र। दुवै जना गठबन्धनकै उम्मेदवार भए पनि बाजी महिन्द्रले मारे, महतो पराजित भए।
चुनावमा पराजित भएयता पार्टीको आन्तरिक राजनीतिक भूमिकामा कमजोर देखिन थालिए, महतो। लोसपाका वरिष्ठ नेता भए पनि आन्तरिक निर्णयहरूमा उनको प्रभाव कम हुँदै गएको थियो।
लोसपाभित्र उकुसमुकुसमा परिरहेका महतोलाई अध्यक्ष ठाकुरले केन्द्रीय समिति विस्तार गरेपछि झनै झड्का लाग्यो।
ठाकुरले ३११ सदस्यीय केन्द्रीय समिति बनाउँदा आफ्नो मान्छे नपरेको गुनासो महतोको थियो।
महतोको आरोप थियो–केन्द्रीय समितिमा आफूनिकटका व्यक्ति समावेश गरिएन।
ठाकुर पक्षले भने केन्द्रीय समितिमा ल्याइएका सबै व्यक्ति पार्टी ‘क्याडेर’ नै रहेको जवाफ दिए।
असन्तुष्ट बन्दै गएका महतोले गत मंसिरमा सम्पन्न केन्द्रीय समितिको बैठक नै बहिष्कार गरे।
महतोसँगै अर्का नेता अनिल झा पनि केन्द्रीय समिति बैठकमा गएनन्।
ठाकुरले महतो र झाको अनुपस्थितिलाई खासै मतलब गरेनन्। र, पार्टीको दोस्रो तहका नेताको अनुपस्थितिका बाबजुद बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बैठक सञ्चालन गरे।
ठाकुरले ८ असोजमा ३११ सदस्यीय केन्द्रीय समिति गठन र कार्यविभाजन गरेका थिए। उनले ६३ सदस्यीय पदाधिकारी बनाए।
ठाकुरले आफूनिकटका व्यक्तिलाई मात्र प्राथमिकता दिएको भन्दै महतो रूष्ट बने। निर्णय सच्याउन उनले निरन्तर दबाब दिइरहे।
तर, उनको त्यो दबाबको ठाकुरमाथि कुनै असर परेन। महतो त्यो बेलादेखि पार्टी कार्यालय जान पनि छाडे।
अन्ततः लोसपाभित्र गुम्सिइरहेका महतो पार्टी छोड्ने निर्णयमा पुगे।
महतोको राजनीतिक यात्रा?
पहिलो जनआन्दोलनको सफलतापछि पहिलोपटक सप्तरीका गजेन्द्रनारायण सिंहले संघीयताको मुद्दा अघि सारे। त्यो बेला साम्प्रदायिक राजनीति गरेको आरोप झेलेका सिंहकै लाइनमा अन्ततः सबै पार्टीहरू हिँड्नुप¥यो।
मधेसको मुद्दा अगाडि बढाइरहेका सिंहको सम्पर्कमा पुगेर महतोले आफ्नो राजनीतिक गतिविधि अगाडि बढाए।
महतोले २०४८ सालमा नेपाल सदभावना पार्टीबाट सर्लाही–२ मा पहिलोपटक चुनाव लडे। तर, उनी पनि पराजित भए।
२०५१ सालमा पनि त्यही क्षेत्रबाट चुनाव लडेर पराजित भएका उनी २०५६ मा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई पराजित गरेर संसदको यात्रा सुरू गरे।
२०६४ मा उनी नेपाल सदभावना पार्टी फुटेर बनेको सदभावना पार्टीबाट चुनाव लडेका थिए। त्यो बेला निर्वाचन क्षेत्र परिवर्तन गरेर सर्लाही–४ बाट जित हात पारे।
त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा महतो सर्लाही–२ बाटै चुनाव लडे।
त्यो बेला तमलोपाबाट अलग भएर आफ्नै नेतृत्वमा गठन गरेको तराई मधेस सदभावना पार्टी(तमसपा) बाट चुनाव लडेका महिन्द्रले सदभावना पार्टीका अध्यक्ष रहेका महतोलाई पराजित गरे।
महतोलाई उनले २ हजार ७४४ मतले पराजित गरेका थिए।
२०७४ को प्रतिनिधिसभा निर्वाचनअघि ६ वटा मधेस केन्द्रित दलहरू एकीकरण भएर राष्ट्रिय जनता पार्टी (राजपा) बन्यो।
दुवै नेता राजपामै सामेल भएपछि त्यो निर्वाचन महिन्द्र सर्लाही–२ बाट लडे भने महतो धनुषा–३ मा गएका थिए।
महिन्द्रले सर्लाही–२ मा कांग्रेसका जंगीलाल राय र महतोले धनुषा–३ मा विमलेन्द्र निधिलाई पराजित गरे।
तर, ९ वर्षपछि फेरि दुवै नेता एकअर्काको प्रतिस्पर्धी बनेर सर्लाही–२ बाट चुनावी मैदानमा उत्रिएका थिए।
दोस्रोपटक एकअर्काविरूद्ध चुनावी मैदानमा उत्रिएका महतो महिन्द्रसँग दोस्रोपटक पनि पराजित भए।
Leave a Reply