काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो उपहार पठाउने बताएका छन्।
रिङरोड बिस्तारको कामलाई तीब्रता दिन आग्रह गर्दै उनले काम अगाडि नबढेसम्म दिनहुँ एक ट्रक धुलो उपहार पठाउने बताएका हुन्।
रिङरोड विस्तारको नाममा महानगरवासीलाई धुलोधुँवा खानुपरेको बताउँदै मेयर साहले काम अगाडि नबढेसम्म मन्त्री महासेठलाई पायक पर्ने ठाउँमा हरेक दिन एक ट्रक धुलो पठाउने जिकिर गरेका छन्।
‘माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठज्यू, यो धुलो जनतालेमात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु, माया सम्झेर स्वीकार्नु होला,’ साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
मेयर साहले महानगरको ट्रकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत मीनभवनस्थित सडक डिभिन कार्यालयअगाडि धुलो खन्याएको भिडियो पनि आफ्नो पोस्टमार्फत सार्वजनिक गरेका छन्।
उनले मन्त्री महासेठलाई काम रोक्नसक्ने दिने आदेशले नै तीब्रता दिनुपर्ने उल्लेख गरेका छन्।
मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्,‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला।’
काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँकै धुलोको हात रहे पनि महानगरले अकारण गाली खानुपरेको उनको भनाइ छ।
‘विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महारजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको छ। काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्ममा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ। र, काठमाडौं महानगरले अकारण गाली खानुपरेको छ,’ उनले भनेका छन्।
Leave a Reply