‘फ्लोर क्रस’ गर्ने प्रदेस सांसद देवकोटा पदमुक्त, गण्डकी सरकार अल्पमतमा

जनकपुरधाम – नेपाल समाजवादी पार्टी (नेसपा) का गण्डकी प्रदेससभा सदस्य फणिन्द्र देवकोटालाई माओवादी केन्द्र गण्डकी प्रदेस संसदीय दलले कारबाही गरेको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटालाई माओवादी केन्द्रले दल त्यागको कारबाही गरेको हो।

माओवादी संसदीय दलको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएकाले देवकोटामाथि कारबाही गरिएको माओवादी गण्डकी प्रदेस संसदीय दलले जनाएको छ।

बाबुराम भट्टराई नेतृत्वको नेसपाका नेता देवकोटा २०७९ मा सम्पन्न प्रदेससभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका थिए।

माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनावमा भाग लिएर निर्वाचित भएका उनी माओवादी संसदीय दलको बैठकमा भाग लिँदै आएका थिए।

पछिल्लो समय मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदा देवकोटाले ‘फ्लोर क्रस’ गरेर विश्वासको पक्षमा मतदान गरेका थिए।

नेकपा माओवादी केन्द्र प्रदेस संसदीय दलले उनीमाथि कारबाही गरेको पत्र प्रदेससभा सचिवालयमा दर्ता गराएपछि सभामुख कृष्णप्रसाद धितालले शुक्रबार बसेको प्रदेससभा बैठकमा पत्र पढेर सुनाएका हुन्।

प्रदेससभामा देवकोटामाथि दल त्यागको कारबाही गरिएको सूचना सभामुखले दिएसँगै उनको प्रदेस सांसद पदमुक्त भएका छन्।

सभामुखले सूचना सुनाएसँगै प्रदेस सरकारमा ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री रहेका देवकोटाको मन्त्री पद पनि जाने निश्चित छ।

तर, मुख्यमन्त्रीले चाहेमा उनी ६ महिनाका लागि मन्त्री रहनसक्छन्। उनलाई अब न्याय खोज्न सर्वोच्च अदालतको बाटो खुलेको छ।

राजनीतिक दलसम्बन्धी ऐनले ‘एउटै निर्वाचन चिह्नमा दुई वा दुईभन्दा बढी दलहरू संयुक्त रूपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता दलमध्ये सबैभन्दा बढी सिट पाउने दलको नाममा एउटामात्र संसदीय दल गठन हुने र निर्वाचित प्रतिनिधि पनि सोही दलको रहने’ व्यवस्था गरेको छ।

यही व्यवस्थाअनुसार माओवादी केन्द्रले देवकोटा आफ्नो संसदीय दलको सदस्य रहेको भन्दै कारबाही गरेको हो।

देवकोटाले पाण्डेलाई विश्वासको मत दिएपछि उनको पक्षमा बहुमत पुगेको थियो।

त्यसपछि मुख्यमन्त्री पाण्डेले उनलाई मन्त्री नियुक्त गरेका थिए। तर, देवकोटा पदमुक्त भएपछि मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार पनि अल्पमतमा परेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *