फेरि एक्लिए बाबुराम, महिन्द्र समूहद्वारा माओवादीसँग एकता गर्ने घोषणा

जनकपुरधाम- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई पार्टीभित्र फेरि एक्लिएका छन्।

जनता समाजवादी पार्टी (जसपा) छाडेर नेसपा गठन गरेका भट्टराई अर्का अध्यक्ष महिन्द्रराय यादव समूह माओवादी केन्द्रसँग एकताको घोषणा गरेपछि एक्लिएका हुन्।

नेसपाका यादव समूहले शनिबार माओवादी केन्द्रसँग एकताको घोषणा गरेको हो।

यादव नेसपाका एक्ला प्रतिनिधिसभा सदस्य हुन् भने माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधिसभा सदस्य बनाउन भट्टराईले आफू चुनाव नलडि गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएका थिए।

नेसपाका अध्यक्ष यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवसहितको समूहले माओवादी केन्द्रसँग एकताको घोषणाको सहमति गरेको छ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको एकता संयोजन समितिको बैठकले एकताको निर्णय गरेको माओवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले शनिबार संयुक्ति विज्ञप्ति निकालेर जनाएका छन्।

पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।

कार्यदलमा माओवादी केन्द्रबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा छन्। त्यस्तै नेसपाबाट सहअध्यक्ष श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सदस्य छन्।

एकता घोषणाप्रति बाबुरामको आपत्ति

पार्टी एकता घोषणाप्रति नेसपा अध्यक्ष भट्टराईले आपत्ति जनाएका छन्।

उनले एकता घोषणालाई पार्टी अपहरण गरेको संज्ञा दिएका छन्।

सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै उनले भनेका छन्,‘यो त कुनै पार्टीलाई अपहरण गरेर लगेजस्तो अनुभूति भएको छ।’
प्रधानमन्त्रीले नै यस्तो गतिविधि गर्नु नैतिक नहुने उनको भनाइ छ।

भट्टराईले चैत ४ गते केन्द्रीय कार्यकारिणी समिति र चैत ५ मा केन्द्रीय समिति बैठक बोलाएको अघिल्लो दिन अध्यक्ष यादव समूहले माओवादी केन्द्रसँग पार्टी एकताको घोषणा गरेको हो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *