कांग्रेस संसदीय दलको बैठक बस्दै, संसदमा प्रस्तुत हुने रणनीतिबारे छलफल हुने

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ।

शुक्रबारबाट सुरू हुन लागेको बजेट अधिवेशनबारे छलफल गर्न दिउँसो कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले संसदमा खेल्ने भूमिका र सहकारी ठगी प्रकरणको विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको जानकारी दिए।

सरकारले जेठ १५ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम ल्याउँदैछ। यसअगाडि उपप्रधानमन्त्री एवंं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गरेको थियो।

सहकारी ठगी प्रकरणमा संलग्न रहेको भनिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद चल्न नदिने अडान कांग्रेसले लिएको छ।

सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकमा पनि कांग्रेसले यो अडान प्रस्तुत गरेको थियो।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकराण्मा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने आफूहरूको अडान यथावत रहेको बताएका छन्।

सरकारले छानबिन समिति बनाउनतर्फ सकारात्मक पहल गर्ने विश्वास गर्दै नबनेको खन्डमा संसदमा प्रस्तुत हुने रणनीतिबारे निर्णय हुने उनले बताए।

बुधबार बसेको कांग्रेस केन्दीय पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पनि सहकारी अनियमितताका सन्दर्भमा संसदीय छानबिन हुनुपर्ने निर्णय गरेको छ।

कुनै व्यक्ति विशेषलाई उन्मुक्ति दिने अभिप्रायले समिति गठन नगर्ने भन्ने कुरा सम्भव नभएको कांग्रेसले ठहर गरेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *