जनकपुरधाम- नागरितकता किर्ते गरेको आरोपमा पक्राउ परेका कान्तिपुरम मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको हो।
जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय धनुषामार्फत सिरोहियालाई अदालतमा उपस्थित गराएको हो।
सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियासँग बयान लिएर अनुसन्धानका लागि पाँच दिन म्याद थप गर्न अदालतसँग माग गरिएको बताए।
फरक–फरक नम्बरको नागरिकता प्रयोग गरी किर्ते गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार साँझ थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो।
मंगलबार राति सिरोहियालाई गाडीमा राखेर हिँडेको प्रहरी टोली बुधबार बिहान जनकपुरधाम पुगेको थियो।
जनकपुरधाम पुगेको केहीबेरपछि प्रहरीले उनलाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेस समिति सदस्य रहेका सर्लाहीका इन्द्रजित महतोले सिरोहियाले नागरिकता किर्ते गरेको आरोप लगाउँदै छानबिनका लागि १६ वैशाखमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए।
सिरोहियालाई पक्राउ गर्न मंगलबार जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको थियो।
Leave a Reply