सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त

जनकपुरधाम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सामेल माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री शाहले माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्।

उनले माओवादीका तर्फबाट सरकारमा सामेल सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन तथा वातावरणमन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका हुन्।

मन्त्री बर्खास्त गरेसँगै मुख्यमन्त्री बाहले दुवै मन्त्रालयको जिम्मेवारी आफैं सम्हालेका छन्।

उनले केन्द्रमा गठबन्धन फेरिएपछि प्रदेसमा पनि मन्त्रीमण्डल हेरफेर गरिएको बताए।

माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरे पनि मुख्यमन्त्री शाहले नेकपा(एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरूलाई भने यथावत राखेका छन्।

सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टीबाट एक मन्त्री र एक राज्यमन्त्री तथा एकीकृत समाजवादीबाट एक मन्त्री छन्।

यी दुवै दलले समर्थन फिर्ता नलिँदा सरकारको बहुमत कायमै रहन्छ। ५३ सदस्यीय प्रदेससभामा बहुमतका लागि २७ प्रदेस सांसदको समर्थन आवश्यक हुन्छ।

प्रदेससभामा कांग्रेसका १८, माओवादीका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन्।

एक सदस्यको निधन भएपछि प्रदेससभामा हाल ५२ सांसद छन्। रिक्त प्रदेससभा सदस्यका लागि आगामी वैशाखमा उपपनिर्वाचन हुँदैछ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *