मधेस प्रदेस : कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी!

जनकपुरधाम- मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरेका छन्।

केन्द्रमा सत्तासमीकरण फेरिए पनि सरकारबाट नबाहिरिएपछि मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेर मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका हुन्।

मुख्यमन्त्री यादवले सरकारमा सहभागी कांग्रेसका तीन जना मन्त्रीहरूलाई सोमबार बर्खास्त गर्ने तयारी गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) नेता यादव नेतृत्वको सरकारमा कांंग्रेसका तर्फबाट भौतिक पूर्वाधारमन्त्री कृष्णकुमार यादव, स्वास्थ्यमन्त्री वीरेन्द्रप्रसाद सिंह र गृह तथा सञ्चारमन्त्री समीम मोहम्मद मन्त्री छन्।

केन्द्रमा माओवादी केन्द्र, एमाले, जसपा, नेकपा(एकीकृत समाजवादी) र रास्वपाको गठबन्धन बनेसँगै प्रदेसमा कांग्रेसका मन्त्रीहरू हटाइने अनुमान गरिएको थियो।

केन्द्र सरकारले यसअघि कांग्रेस कोटाबाट प्रदेस प्रमुख नियुक्त भएका हरिशंकर मिश्रलाई बर्खास्त गरेर सुमित्रा भण्डारीलाई पठाउने निर्णय गरिसकेको छ।

नवनियुक्त प्रदेस प्रमुख उपस्थित भएसँगै कांग्रेसका मन्त्रीहरू सरकारबाट हटाइने मुख्यमन्त्रीनिकट स्रोतले बतायो।

मधेस प्रदेसको प्रदेस प्रमुखमा नियुक्त भएकी भण्डारी सोमबार पदभारग्रहण गर्न जनकपुर आउन लागेकी छन्।

‘नवनियुक्त प्रदेस प्रमुखले पदभारग्रहण गरिसक्नु भएको छैन। उहाँ सोमबार आउने कार्यक्रम छ,’ स्रोतले भन्यो,‘पदभारग्रहण गरेपछि सम्भवतः भोलि साँझसम्म कांग्रेसका मन्त्रीहरू हट्नु हुनेछ।’

मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरिरहँदा आइतबार साँझ जसपा र एमालेका नेताहरूबीच छलफलसमेत भएको छ।

मुख्यमन्त्री निवासमा भएको छलफलमा मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल भएको स्रोतले जनाएको छ।
‘बैठक बिहानै बस्ने भनिएको थियो, तर स्थगित भयो,’ स्रोतले भन्यो,‘साँझ भएको बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भएको छ।’

मुख्यमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन तत्कालै नगरे पनि सोमबारसम्म कांग्रेसका मन्त्रीहरू बर्खास्त हुने लगभग निश्चित रहेको स्रोतको दाबी छ।

‘माओवादी, जसपा र एकीकृत समाजवादीका मन्त्रीहरू यथावत नै रहने भए, कांग्रेसका तीन मन्त्रीको ठाउँमा एमालेको प्रवेश हुन्छ होला, त्यसैले मन्त्रिपरिषद पुनर्गठनमा पनि धेरै समय लाग्ने कुरा भएन,’ उनले भने।

केन्द्रमा सत्तासमीकरण फेरिए पनि प्रदेस सरकारमा सामेल कांग्रेसका मन्त्रीहरू आफैं राजीनामा नदिने निष्कर्षमा पुगेका थिए।

आफूहरूले नतोडेकाले ‘बरू बर्खास्तगी कुर्ने तर राजीनामा नदिने’ निष्कर्ष कांग्रेसका मन्त्रीहरूको थियो।

केन्द्रमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठन गरेपछि कांग्रेसका मन्त्रीहरू स्वतः पदमुक्त भएका थिए।

केन्द्रकै शैलीमा प्रदेस सरकारमा सामेल कांग्रेसका मन्त्रीहरू आफैं राजीनामा नदिने निष्कर्षमा पुगेका हुन्।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफूहरूले गठबन्धन नतोडेका कारण पार्टीका मन्त्रीहरूलाई राजीनामा नदिन भनेको बताए।

‘हामीले गठबन्धन तोडेको होइन, उहाँहरू आफैंले गठबन्धन फेर्नु भएको छ,’ उनले भने,‘मुख्यमन्त्रीले राजीनामा दिन आग्रह गर्नु भएको छ। हामीले हाम्रा मन्त्रीहरूलाई राजीनामा नदिन भनेका छौं। मुख्यमन्त्रीजीले आफैं हटाउनुपर्‍यो।’

यो पनि :

मधेस प्रदेस : कांग्रेसका मन्त्रीहरूले राजीनामा नगर्ने, ‘बर्खास्तगी’ कुर्ने

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *