मधेस नेपालको हो, सबैले सोच्नु पर्दछ…। तर, जवाफ उपेन्द्र यादवले दिनु पर्छ…!

मधेस प्रदेसमा मुख्यमन्त्री तथा सरकारको नेतृत्व गर्ने पार्टी बदलिएको छ। यस प्रदेसमा उपेन्द्र यादवको दलले अबिच्छिन्न् रूपमा ७ वर्षभन्दा बढी शासन गर्यो। बास्तवमा यो ‘डबल इन्जिन’ को सरकार नै थियो। मधेसमा जसपाको सरकार थियो, र केन्द्रमा केही समयको अपवादबाहेक उपेन्द्र यादव सदैव उपप्रधान मन्त्री रहेका थिए।

हुनत् यस अवधिमा प्रदेस सरकारले नीतिगत एवं कानुनी प्रकारका केही उल्लेखनीय कामहरू गरेको पनि हुनुपर्छ। आशा गरौं, जसपाले वा तेस सरकारमा रहेकोहरूले त्यसको जानकारी गराउनेछ।

मधेसको प्रादसिक सरकारको मूल्यांकन गर्दा जसपामात्र लक्षित हुदैन। प्रायसः मधेस केन्द्रित सबै दलहरू अघिपछि गरी सरकारमा रहेका छन्।

उपेन्द्रको पार्टी आज पर्यन्त अनवरत सरकारमा रहे, जबकि महन्थ ठाकुर-राजेन्द्र महत्तोको दल, जनमत पार्टी, नेपाली काँग्रेस, एमाले, मधव नेपालको समुह, माओवादी आदि सबै दलहरू कमबेसी सरकारमा रहेकै छन्।

अब पनि तिनै रहने भएकोले लाभ-हानीका बराबरका हिस्सेदार हुन तिनीहरू। जसपालाई मात्रै दोष दिन सकिन्न्।

मधेसका जनता, नागरिक समाज र प्रेस गुण तथा दोषका आधारमा दलका नेताहरू एवं सरकारको मूल्यांकन गर्दैन। अपितु जातीयता, सामाजिक सम्बन्ध तथा लाभालाभका विषयहरू मूल्यांकनका आधार हुन्छन्।

राजबिराज, जनकपुर र बीरगंजका पत्रकारहरू तथा नागरिक अगुवाहरूका सामाजिक संजाल वा संचार माध्यममा भुमिका देख्दा नै यो कुरो स्पष्ट हुन जान्छ। तथ्य, तथ्यांक एवं काम र दायित्वको आधारमा मूल्यांकन गर्ने चलन छैन मधेसमा। 

म यहाँ केही सरकारी तथ्यांकहरू राखेर जसपाले मधेसका जनताको जीवनस्तरमा के कति परिवर्तन गर्न सकेको छ?  तेसको संक्षिप्त लेखाजोखा गर्न चाहेको हुँ।

मधेस सरकारबाट जसपा बहिरिनु सँगसँगै संघीय सरकारको बार्षिक बजेट आयो। यस क्रममा बजेट बारेको एक समाचार बडो चर्चामा रह्यो। समाचारको सार थियो-‘सदैव व्यस्त रहेको मधेस सरकार, जसले उचित तरिकाले बजेट पनि माँग गर्न नसक्दा यस आबमा संघीय बजेटबाट मधेस प्रदेसले पाउनुपर्ने  अनुदान बजेट पाएन।’

यसका साथै बजेटसम्बन्धि एउटा तालिका सार्वजनिक भयो। यसमा मुलुकका ७ वटै प्रदेसले केन्द्र सरकारबाट पाउने विशेष र समपुरक अनुदानको बिनियोजित रकम उल्लेख थियो। घोर आश्चर्य, यसमा मधेस प्रदेसको विनियोजन शुन्य थियो। यो असामान्य कुरो हो। अपवादको रूपमा पनि यसो हुन नहुने हो, तर भयो।

यस सम्बन्धमा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौड्यालले भनेका छन्- मधेस प्रदेसबाट ‘नयाँ र क्रमागत दुवै खालका योजनाका लागि बजेट माग गरी प्रस्ताव आएन। अन्तिम दिनसम्म पनि योजना आयोगले प्रस्ताव हाल्न भनिरहेको थियो। तर मधेश प्रदेसले कुनै प्रस्ताव पठाएन।’

यसरी नै मधेस प्रदेश सरकारका प्रदेश नीति तथा योजना आयोगका बहालवाला उपाध्यक्ष नाथुप्रसाद चौधरी भन्छन्, ‘समपूरक र विशेष अनुदान लिनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रक्रिया नै अगाडि बढाएन। योजना र कार्यक्रम स्वीकृत गरेर अनुदान मागसहितको प्रस्ताव पठाउने काम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हो।’

उपेन्द्र यादवको  मधेस प्रदेस सरकारको नालायकी यसबाट छर्लङ्ग हुन्छ।

यस चालु वर्षको तथ्यांकअनुसार मुलुकको सातवटै प्रदेसको तुलनामा मधेस प्रदेसको प्रतिव्यक्ति जिडीपी सातौं स्थानमा, अर्थात सबै भन्दा पुछारमा झरेको छ। मधेस प्रदेशको कूल गार्हस्थ उत्पादन वृद्धिदर जम्मा ४.८२% रहेको छ। बाँकी कर्णालीको ५.४७% र सुदूरपश्चिमको ४.९२% पनि मधेस भन्दा बढी नै छ।

केन्द्रीय तथ्यांक बिभागको ‘नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८०’ अनुसार ७ वटै प्रदेशमा सबैभन्दा बढी गरिबको जनसंख्या मधेशमा २५.०८ प्रतिशत रहेको छ। सबैभन्दा कम गण्डकीमा ४.८८ प्रतिशत रहेको छ। 

नेपालको अद्यावधिक जनगणनाअनुसार मुलुकको आर्थिक रूपमा निष्क्रिय जनसंख्या ३७.५% मध्ये सबैभन्दा बढी मधेस प्रदेसमा ४६.५% छ। श्रमशक्ति सर्वेक्षण २०७४/७५ अनुसार नेपालको बेरोजगारी दर ११.४% मध्ये सबैभन्दा बढी मधेस प्रदेशमा २०.१% र सबैभन्दा कम बागमतीमा ७% देखिन्छ।

सातै प्रदेसको तुलनामा मधेस प्रदेसका एउटा पनि जिल्ला हालसम्म पूर्ण साक्षर हुन सकेको छैन। अन्य प्रदेशहरूका ६० वटा जिल्ला गत असार, २०७९ सम्ममा पूर्ण साक्षर घोषित भैसकेका छन्।

आ.ब. २०७८-०७९ र गत आ.ब. ०७९-०८० को अवधिमा सबभन्दा कम विकास खर्च मधेस प्रदेस कै छ। यहाँको सरकारले विकासका लागि छुट्ट्याइएको रकम पनि खर्च गर्न सकेको छैन। यो असक्षमताको पराकाष्ठा हो।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको साक्षरता दर ५०.१ प्रतिशत रहेको छ। कर्णाली प्रदेसमा अन्य प्रदेसभन्दा साक्षरता दर बढी (५३.२ %) देखिएको छ भने मधेस प्रदेसमा सबैभन्दा कम (४२.२%) रहेको छ।

प्रधानन्त्री रोजगार कार्यक्रमका लागि संघीय सरकारले मुलुक भरबाट बेरोजगार युवाहरूलाई दर्ता निम्ति आह्वान गर्यो। कूल ८,८५,१५४ बेरोजगार युवाहरूले नाम दर्ता गराए।

यसमा खर्च गर्नका लागि सरकारले कूल रू. ५९४ करोड ७० लाख विनियोजन गरेकोमा मधेस प्रदेसको १,०७० प्रस्तावमा जम्मा रू. ९ करोड ३० लाख ६० हजार मात्र खर्च भयो।

जबकि सबैभन्दा बढी कोशी प्रदेसको १७१० रोजगारी प्रस्तावमा रू. २३ करोड ५० लाख खर्च भयो। मधेस प्रदेसको भन्दा बढी खर्च बरू सर्बाधिक दुर्गम कर्णाली प्रदेशले गरेको तथ्यांक छ।

‘विश्व तथ्यांक’@stats_feed का अनुसार संसारभर मै सर्वाधिक सार्वजनिक बिदा दिइने देश नेपाल हो। जब कि नेपालका ७ बटै प्रदेसहरूमा सबै भन्दा बढी सार्वजनिक बिदा मधेस प्रदेसमा दिइन्छ। तथ्यांकको यस्तो क्रम धेरै लामो छ। मैले यहाँ संक्षिप्त रूपमा राखेको छु।

मैले फगत आलोचनाका लागि यी सब कुराहरू भनेको होइन। सरकारको आधिकारिक तथ्यांकहरूले भन्छ कि शिक्षा, स्वास्थ्य, महिला शसक्तिकरण, बाल विकास, कमजोर समुदायको उत्थान, उद्योग, सिंचाई, रोजगार, सुशासन जस्ता क्षेत्रहरूमा मधेसले कमजोर उपलब्धि हासिल गरेको छ।

जबकि, अचम्म त यस कुरोमा छ कि यस्तो कमजोर उपलब्धिका साथ शासन गर्ने उपेन्द्र यादवको पार्टीको निवर्तमान मुख्य मंत्री सरोजकुमार यादव ५२ बिघा जग्गामा प्रदेस सरकारको मुख्य प्रशासनिक भवन निर्माण गर्ने योजना बनाएर बिदा भएका छन्।

जनता समाजवादी पार्टी, जसपाले सामाजिक न्यायको नारामा शासन गरेको हो। जबकि पुरै मुलुकका सबै प्रदेसको तुलनामा सर्वाधिक दलित उत्पीडन मधेस प्रदेस मै छ। आफ्नो जिउमा आगो लगाएर तथा अरूले आगो लगाइ दिएर सबैभन्दा बढी महिलाको मृत्यू मधेस प्रदेस मै भैरहेको छ। अहिले मिटरब्याजीको बडो ठूलो चर्चा छ।

मिटरब्याजी पीडित ऋणीहरूले उद्धारका लागि देशभरबाट दिएको १,७६८ उजुरीमध्ये मधेश प्रदेशबाट सबैभन्दा बढी ९८२ पीडित देखिए। यस तथ्यांकले पनि मधेस प्रदेसको सामाजिक-आर्थिक दुरावस्थाको झलक दिन्छ।

उपेन्द्र यादव र मधेस सरकारका तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले सबै भन्दा बढी प्रचारमा ल्याएका

मधेस प्रदेस सरकारको ‘बेटी बचाऔ बेटी पढाऔं’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष निकालेर मुख्यमन्त्री कार्यालयका तत्कालीन सचिवसहित उपर मुद्दा चलाउने निर्णय गर्यो।

साइकल खरीद विषयमा अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्दा ‘प्रारम्भिक छानबिनमा मुख्यमन्त्री कार्यालयको संलग्नता देखिएको’ भनेको थियो। मधेस प्रदेसले किसानको समस्या बुझ्न कार्यदल बनाएको थियो। उपेन्द्र यादवको लालबाबु सरकारले पदस्थापन लगत्तै ‘खेत खेतमा सिंचाई र हात हातमा रोजगारी’ नाराका साथ कृषि कार्यक्रम ल्याएको थियो।

मुख्यमन्त्री लालबाबुको पदावधि सकिएर सरोज यादव मुख्य मन्त्रीबाट बिदा भएका छन्। तर अझै समस्या बुझ्दैछ। सोचौं,कसरी चल्यो होला ‘खेत खेतमा सिंचाई र हात हातमा रोजगारी’ को कार्यक्रम?

मुलुकका सबै प्रदेसहरूमा सरकार गठन हुने र भत्किने काम भै नै रहेको छ। मधेसमा यो क्रम कम छ, तसर्थ, यहाँ बढी राजनीतिक स्थिरता छ-मान्नु पर्ने हुन्छ। यसका बबजुद पनि विकासको रफ्तार एकदमै कमजोर छ। तथ्यांकले यही भन्दछ।

यद्यपि, मधेसका नेताहरूले कुनै संज्ञान जाहेर गरेको देखिँदैन। यहाँका नागरिक समाज, प्रेस सबै चुपचाप छन् यस गंभीर दुरावस्थाका बारेमा।

यी सब यथार्थलाई उपेन्द्रले कहिल्यै स्वीकार्न चाहँदैनन्।

(साभार : जयप्रकाश आनन्दको फेसबुक पेज)

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *