DHKHABAR

All news at one place

समाचार

आलम मुद्दाको अन्तिम सुनुवाइ हुँदै

काठमाडौं – आफताब आलम मुद्दाको आइतबार सुनुवाइ हुँदैछ।

जिल्ला अदालत रौतहटमा राजपुर बम कान्डका आरोपी आलमको मुद्दाको सुनुवाइ हुन लागेको हो।

मुद्दाको सुनुवाइका लागि जिल्ला अदालतका एक नम्बर न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले २०७६ असोज २६ गते पक्राउ गरेको थियो।

पहिलो संविधानसभा निर्वाचनका बेला २०६४ चैत ७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको उनीमाथि आरोप छ।

संविधानसभा निर्वाचनको एक दिनअघि २७ चैतमा शेख इद्रिसको घरमा बमा विस्फोट हुँदा सरुआठाका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको थियो।

विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप लगाउँदै उनीहरूको परिवारका सदस्यहरू श्रीनारायण सिंह र रुक्साना खातुनले आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरूद्ध किटानी जाहेरी दिएका थिए।

इटाभट्टामा २० जना घाइतेलाई जिउँदै जलाइएको आरोप लगाइएको छ। घटना खुल्ने डरले त्यही रात विस्फोटमा भत्किएको घरको छानो र पर्खालसमेत लगाएर स्थानीयलाई डरत्रासमा राखिएको थियो।

यो मुद्दामा सर्वोच्च अदालतले २०६९ जेठ १६ गते गम्भीरतापूर्वक अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न आदेश दिएको थियो।

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले आदेश कार्यान्वय गर्ने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरलाई २०७५ चैत ८ गते ताकेता गर्दै मुद्दा चलाउन पत्राचार गरेको थियो।

सर्वोच्चको आदेशअनुसार प्रहरीले आलमलाई पक्राउ गरी अनुसन्धान कार्य सुरू गरेको थियो।

को हुन आलम?

२०१९ असार ५ गते जन्मिएका आलम विज्ञान संकायबाट स्नातक गरेका छन्।

२०३४ सालबाट नेपाली कांग्रेसमा आवद्ध भएर राजनीतिक यात्रा सुरू गरेका आलम २०४५ सालदेखि दुईपटक जिल्ला सभापति र केन्द्रीय सदस्य भभएका थिए।

२०५३ सालको उपनिर्वाचन, २०५६ र २०६४ सालमा रौहट क्षेत्र नम्बर २ बाट निर्वाचित भएका आलम पटकपटक गरी ६ चोटी विभिन्न मन्त्रालय सम्हालिसकेका छन्।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनलाई पराजयको सामना गर्नुपर्‍यो।

तर, चार वर्षपछि २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी त्यही क्षेत्रबाट फेरि निर्वाचित भए।

आलमले प्रतिस्पर्धी उम्मेदवार तत्कालीन संघीय समाजवादी फोरमका किरणकुमार साहलाई १ हजार ९६८ को मतान्तरले पराजित गरेका थिए।

प्रतिनिधिसभा सदस्य छँदै राजपुर बम कान्डमा मुछिएका आलम पक्राउ परेका थिए।

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *