‘सुशील दा’ : दृढ संकल्पका प्रतिमूर्ति

आजीवन अविवाहित स्व.सुशील कोइरालाका आफ्ना सन्तान त कोही छैनन्। तर उनले पूरै देशलाई परिवार मान्दथे। लामो द्वन्द्व र संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवधिान जारी गराउन कोइरालाले अकल्पनीय भूमिका खेले।

त्यसैले २०७२ साल असोज ३ गते संविधान जारी गराएपछि उनका प्रशंसकहरुले कोइरालालाई संविधानका पितासमेत भन्नथाले।

देश संक्रमणकालिन अवस्थाबाट गुज्रिरहँदा कोइरालाले अभिभावकको भुमिका निर्वाह गरेका थिए। स्व. सुशील कोईराला कार्यकर्तामाझ ‘सुशील दा’ को उपमाले सुपरिचित थिए। आजकै दिन कोइरालालाई भौतिक रुपमा हामी सबैले गुमाएका थियौं।

२०७० माघ २७ मा प्रधानमन्त्री भएका कोइरालाको भौतिक शरीर नरहे पनि आफूले गर्ने कामका बिषयमा उनको दृढ संकल्प लिने कुरा सबैका लागि प्रेरणा बन्न सक्छ। निष्ठा,सरलता, शालिनता र सहजता उनको विषेशता तथा पहिचान थियो।

प्रधानमन्त्री भएपछि संविधान निर्माण उनको एक सूत्रीय एजेण्डा थियो। तर कतिपय वाह्य शक्तिहरु संविधान त्यो स्तरको जारी नहोस् भन्ने चाहन्थे।

कतिपयले त उनलाई प्रधानमन्त्रीको पदमा रहँदै सांकेति रूपमा ‘थ्रेट’ नै आएको बताउँथे। कोइरालाकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको नयाँ संविधान(२०७२ जारी भयो।

कतिपय असन्तुष्ट पक्षलाई कोइरालाले संविधान संशोधन हुन्छ। जारी नै नगर्ने हो भने त देश नै नरहला है समेत भनेर परिस्थिति बुझाउँदथे।

सार्क सम्मेलनमा भारतीय प्रधान्त्री नरेन्द्र मोदी र पाकिस्तानी समकक्षी नवाज शरीफलाईसँगै उभ्याउनु कोइरालाको सफल कुटनीतिको एउटा गतिलो उदाहरण थियो।

१८औँ सार्क शिखर सम्मेलन २०७१ मंसिरमा काठमाण्डौमा सम्पन्न भएको थियो। २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा नेपाली कांग्रेस कोइरालाकै नेतृत्वमा पहिलो स्थानमा पुग्यो।

उनी २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भए।। संयुक्त राष्ट्र संघको ६९ औं महासभालाई प्रधानमन्त्रीका रुपमा कोइरालाको महत्वपुर्ण संवोधन थियो।

राजनीतिक यात्रामा कोइरालाले ६ वर्ष जेल जीवन गरी १६ वर्ष भारतमा बिताएका थिए। ०४८ र ०५६ सालमा बाँके क्षेत्र नं २ बाट सांसदमा विजयी भएका थिए कोइराला। २०५१ र २०६४ मा उनि पराजित भए।

०७० साल मंसिरमा भएको संविधानसभाको निर्वाचनमा बाँके ३ र चितवन ४ बाट निर्वाचित भएका थिए कोइराला। कोइराला ‘सोसलिस्ट इन्टरनेसनल’ को उपाध्यक्ष भएर अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धमा पनि काम गरेका थिए।

पिता बोधप्रसाद र माता कुमुदिनीका सन्तानका रुपमा कोइरालाको जन्म वि.सं. १९९६ साउन २८ गते मोरङको विराटनगरमा भएको थियो।

वि.सं.२०१० देखि नै राजनीतिमा लागेका कोइरालाले पार्टी सदस्यता भने २०१२ सालमा लिएका थिए। उनी २०३६ सालमा कांग्रेस केन्द्रीय सदस्य भएका थिए।

०४२ सालको सत्याग्रहदेखि ०४६ र ०६२÷६३ को जनआन्दोलनमा उनले सक्रिय सहभागिता जनाएका थिए। कोइराला १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।

देशको कार्यकारी प्रधानमन्त्री भइसकेका कोइराला अस्पतालको मुख देख्न नपाइ बिदा भए। कोइरालाका साँच्चिकै आफ्ना सन्तान भएका भए त्यो खाले हृदयविदारक मृत्युवरण हुने थिएन की?!!

त्यो मृत्युवरणले नेपालको राष्ट्रिय सुरक्षा र सार्वभौमीकताका कुरा गर्नेहरूलाई ए पटक होइन पटकपटक सोच्न बाध्य पार्छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *