सरकारका प्रतिनिधि उपस्थित नभएपछि प्रदेससभा बैठक स्थगित

जनकपुरधाम- सरकारका प्रतिनिधि उपस्थित नभएपछि मधेस प्रदेसको प्रदेससभा बैठक स्थगित भएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा सरकारका प्रतिनिधि उपस्थित नभएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

विश्वासको मत लिने कार्यसूची रहे पनि मुख्यमन्त्री यादवले आफू बिरामी भएको पत्र प्रदेससभा सचिवालयलाई पठाएपछि विश्वासको मत लिने वा नलिने अन्योलका बीच बैठक सुरू भएको थियो।

नेपालको संविधानअनुसार दल विभाजन भए वा सरकारको समर्थनमा रहेका दलहरूमध्ये कुनै एक दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

मुख्यमन्त्री यादवको दल जनता समाजवादी पार्टी (नेपाल) विभाजन भएको बुधबार ३० दिन पुगेको छ।

विश्वासको मत लिने अन्तिम दिन मुख्यमन्त्री यादवले आफू बिरामी भएको पत्र प्रदेससभा सचिवालयलाई पठाएका हुन्।

अशोक राईको नेतृत्वमा ७ जना सांसदले २३ वैशाखमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए।

आयोगले २४ वैशाखमा राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) लाई मान्यता दिएको थियो।

जसपा नेपाल टुक्रिएसँगै मुख्यमन्त्री यादवको सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र समर्थन फिर्ता लिइ बाहिरिएको थियो।

त्यस्तै अर्को साझेदार दल नेकपा(एकीकृत समाजवादी) ले पनि मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

एकपछि अर्को गरी साझेदार दलहरूले साथ छाडेपछि मुख्यमन्त्री यादवको दल जसपा नेपाल एक्लिएको छ।

माओवादी केन्द्र प्रदेस संसदीय दलका नेता भरतप्रसाद साहले संसद छल्न मुख्यमन्त्री यादवले बिरामी भएको बहाना बनाएको आरोप लगाएका छन्।

अल्पममतमा परिसकेका मुख्यमन्त्री यादवले नैतिकताको आधारमा राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ छ।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *