सतोखर पुग्यो परिक्रमा, झरीले श्रद्धालुलाई बिजोग

फाइल तस्बिर

जनकपुरधाम- एक्कासी मौसम परिवर्तन भइ बुधबार बिहानबाट सुरू भएको झरीले १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी श्रद्धालुहरू समस्यामा परेका छन्।

बिहान करिब ४ बजेदेखि सुरू भएको मध्यम वर्षाका कारण परिक्रममा सहभागी लाखैं श्रद्धालुहरू समस्यामा परेका हुन्।

वासको उचित व्यवस्थापन नहुँदा वर्षाका कारण उनीहरू समस्यामा परेका छन्। मिथिलाको महाकुम्भसमेत भनिने परिक्रमामा लाखौं श्रद्धालु सहभागी छन्।

एक्कासी वर्षा भएपछि वासस्थानको उचित व्यवस्था नहुँदा परिक्रमाका सहभागीहरू रूझ्न बाध्य भएका छन्।

वर्षा हुन थालेपछि श्रद्धालुहरू आफैेंले लगेको पालभित्र ओत लागेर जोगिने उपाय खोजेका थिए। पाल नभएकाहरू रूखमुनि ओत लागेका थिए।

२७ फागुनमा जनकपुरधाम सुरू भएको मिथिला मध्यमा परिक्रमा बुधबार बिहानै धनुषाधामबाट सतोखरका लागि हिँड्ने तयारी गरिरहँदा अचानक झरी सुरू भएको थियो।

बुधबार सतोखरमा विश्राम गरेर मिथिला मध्यमा परिक्रमा बिहीबार औरही पुग्नेछ।

त्यसपछि परिक्रमाका श्रद्धालुहरू पुनः भारत प्रवेश गर्नेछन्। शुक्रबार करौना र शनिबार विसौलमा विश्राम गरेर मिथिला मध्यमा परिक्रमा आइतबार जनकपुरधाम पुग्नेछ।

त्यो दिन विश्राम गरेर सोमबार जनकपुरधामको अन्तगृह परिक्रमा गरी यसपालिको मिथिला मध्यमा परिक्रमा सम्पन्न हुनेछ।

अन्तगृह परिक्रमाको भोलिपल्ट जनकपुरधाम आसपासको क्षेत्रमा होली पर्व मनाउने परम्परा रहेको छ।

मिथिला मध्यमा परिक्रमामा नेपाल तथा भारतका लाखौं तिर्थालु सहभागी छन्। नेपाल र भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस धार्मिक यात्रामा नेपालको १२ तथा भारतको तीन स्थानमा विश्राम स्थल रहेको छ।

मिथिला मध्यमा परिक्रमाको क्रममा सहभागी तिर्थालुहरु नेपालमा १०७ र भारतमा २६ किलोमिटर गरी कूल १३३ किलोमिटर लामो धार्मिक यात्रा पैदल हिँडेर पुरा गर्ने गरेका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *