काठमाडौं- सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूलाई सामबारको प्रतिनिधिसभा बैठकमा अवरोध नगर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने तयारी गरेकाले बैठक अवरोध नगर्न उनले विपक्षी दलहरूसँग आग्रह गरेका हुन्।
कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेकाले संसद बैठक अवरोध नगर्न अनुरोध गरेको उनको सचिवालयले जनाएको छ।
संसदीय अभ्यासमा कतिपय बिजनेसमा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा आउनुपर्ने उनको भनाइ थियो।
‘केही दिनअघिमात्रै हामीले सौहाद्रताका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका छौं, प्रधानमन्त्रीको विश्वासको मत पनि यस्तै विषय हो। एक सातापछि नै बजेट ल्याउँदैछौं। प्रधानमन्त्रीले बहुमत परीक्षण गर्छु भनेर संसदमा प्रस्ताव गरेको अवस्थालाई प्रभावित बनाउनु हुँदैन,’ सभामुख घिमिरेले भने।
Leave a Reply