काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान दोहोराएको छ।
गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न निरन्तर माग गरिरहेको कांग्रेसले अडान दोहोराएको हो।
संसदीय छानबिन समिति गठन नहुँदासम्म प्रतिनिधिसभा बैठक चल्न नदिने चेतावनीसमेत कांग्रेसले दिएको छ।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि संसदीय समिति गठन नगरे संसद चल्न नदिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
उनले गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलन गर्नेमा संलग्न रहेकाले छानबिनमा कांग्रेस एकमत रहेको बताए।
सहकारीको रकम अपचलन भएको विषयमा निष्पक्ष, स्वतन्त्र र विश्वसनीयताका निम्ति संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको भनाइ रहेको लेखकले जिकिर गरे।
छानबिन नभएर संसद अगाडि बढ्न नसक्ने बताउँदै उनले संसदको कामकारबाही प्रभावित भए सरकार जिम्मेवार हुने उल्लेख गरे।
Leave a Reply