जनकपुरधाम- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार नयाँ दिल्ली जाने भएका छन्।
भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन उनी नयाँ दिल्ली जान लागेका हुन्।
भारतीय जनता पार्टी (भाजपा) का नेता मोदी नेसनल डेमोक्रेटिक एलायन्स (एनडिए) का तर्फबाट लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुँदैछन्।
आइतबार साँझ उनको सपथग्रहण समारोह राखिएको छ।
मोदीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै उनकी छोरी गंगा दाहाल, कानुन तथा संसदीय मामिलामन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी अधिकारी नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड आइतबार राति नयाँ दिल्लीमै बस्ने कार्यक्रम छ।
उनको सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मोदी एनडिए गठबन्धनको नेतृत्व गर्दै तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्दैछन्। यसअघि कांग्रेसका नेता जवाहर लाल नेहरू मात्र लगातार तीन कार्यकालका लागि भारतमा प्रधानमन्त्री भएका थिए।
मोदीको आइतबा साँझ ७ : १५ बजे सपथ लिने कार्यक्रम तय भएको छ।
उनको सपथग्रहण कार्यक्रममा विदेशी पाहुनासहित ८ हजार बढीको सहभागिता रहने बताइएको छ।
Leave a Reply