मधेस प्रदेस : चौथोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

जनकपुरधाम- मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन्।

दिउँसो १ बजे बस्ने प्रदेससभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेका हुन्।

सरकारमा सहभागी दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिनुपरेको हो।

केन्द्रमा सत्तासमीकरण फेरिएपछि कांग्रेसले ९ चैतमा मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

मुख्यमन्त्री यादवले ५ दिनअगावै विश्वासको मत लिने तयारी गरेका छन्।

कांग्रेसले समर्थन फिर्ता लिएपछि एकै कार्यकालमा मुख्यमन्त्री यादवले चौथोंपटक विश्वासको मत लिन लागेका छन्।

यसअघि जनमत पार्टी सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि ६ फागुनमा मुख्यमन्त्री यादवले विश्वासको मत लिएका थिए।

तेस्रोपटक विश्वासको मत लिँदा पक्षमा ६५ र विपक्षमा ३५ जनाले मतदान गरेका थिए।

त्यसअघि नेकपा एमाले सरकारबाट बाहिरिएपछि यादवले दोस्रोपटक विश्वासको मत लिएका थिए।

त्योबेला सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेलेसमेत विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवले सिंगो सदनको विश्वासको मत पाएका थिए।

त्यसअघि मुख्यमन्त्री नियुक्त भएको यादवले पहिलोपटक विश्वासको मत लिएका थिए।

अहिले प्रदेससभामा नेकपा एमालेका सभामुखसहित २५, नेपाली कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९/९ तथा एकीकृत समाजवादीका ७ प्रदेस सांसद छन्।

यस्तै नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादीका १/१ प्रदेस सांसद छन्।

जसपा संसदीय दलका नेता यादव नेतृत्वको सरकारमा एमाले, माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी छन्।

१०७ सदस्यीय प्रदेससभामा बहुमतको संख्या पुर्‍याउन मुख्यमन्त्री यादवलाई ५४ सांसदको समर्थन आवश्यक हुन्छ।

सरकारमा सहभागी दलहरू जसपा, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका सांसदको संख्या जोड्दा ६८ पुग्छ। यो बहुमतका लागि चाहिनेभन्दा बढी संख्या हो।

 

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *