जनकपुर पुग्यो परिक्रमा, सोमबार अन्तरगृह, होलीबारे अलमल

जनकपुरधाम- मिथिलाको महाकुम्भ भनिने मिथिला मध्यमा परिक्रमा आइतबार जनकपुरधाम पुगेको छ।

दुई साताअघि मिथिला बिहारीको डोलाका साथ जनकपुरधामबाट सुरू भएको मिथिला मध्यमा परिक्रमा पुनः यहाँ पुगेको हो।

नेपाल तथा भारतका विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गरी जनकपुरधाम पुगेको धार्मिकयात्रा सोमबार अन्तरगृह परिक्रमा गर्नेछ।

मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन जानकी मन्दिरलाई केन्द्र मानेर गरिने परिक्रमालाई अन्तरगृह परिक्रमा भनिन्छ।

अन्तरगृह परिक्रमामा १५ दिनदेखि सहभागी श्रद्धालुका साथै ठूलो संख्यामा स्थानीयहरूसमेत सहभागी हुन्छन्।

अन्तरगृह परिक्रमा गरेसँगै १५ दिने लामो धार्मिकयात्रा सोमबार सकिनेछ।

नेपाल–भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक मानिएको मिथिला मध्यमा परिक्रमाको क्रममा नेपालका ११ र भारतका तीन स्थानमा विश्राम स्थलहरु छन्।

जनकपुरबाट सुरू भएको मिथिला मध्यमा परिक्रमा भारतको कलाणेश्वर, गिरिजास्थान र विशौलमा विश्राम गर्ने गरेको छ।

यसैगरी महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन तथा धनुषाको पर्वता, औरही र धनुषाधाम पुग्ने गर्दछ।

मिथिला महात्मयमा यी विश्रामस्थलहरूको पौराणिक एवं धार्मिक महत्वबारे विशेष रूपले व्याखा गरिएको हुँदा श्रद्धालुहरूमा अटुट आस्था रहेको छ।

मिथिला महात्मयअनुसार १८ औं शताब्दीदेखि यस धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रुपमा मनाउन थालिएको हो।

सबैभन्दा लामो दूरीको यात्रा भनिएको मिथिला मध्यमा परिक्रमाअन्तर्गत नेपालमा १०७ र भारतमा २६ गरी कूल १३३ किलोमिटर यात्रा पैदल यात्रा गरिन्छ।

होलीबारे अलमल

अन्य वर्षजस्तै यसपालि पनि जनकपुरधाममा होली पर्व कहिले मनाउनेबारे अलमल देखिएको छ।

पहाडका जिल्लाहरूमा आइतबार नै होली मनाइँदै गर्दा जनकपुरधाम र आसपासका क्षेत्रमा भने अलमल देखिएको हो।

अन्तरगृह परिक्रमा सकिएको भोलिपल्ट नै जनकपुरधाम र आसपासका क्षेत्रमा होली मनाउने परम्परा रहे पनि यसपालि भने त्यसो नहुने रायहरू व्यक्त भइरहेका छन्।

अन्तरगृह परिक्रमाको भोलिपल्ट मंगलबार परेको र यस दिनमा अधिकांशले माछामासु नखाने गरेका कारण बुधबार होली मनाइने धेरैले बताइरहेका छन्।

कतिपयले भने आपसी सदभाव र सांस्कृतिक पर्व भएकाले खानपानकै कारण परम्परा तोड्न नहुने तर्क गर्दै मंगलबार नै होली मनाउनुपर्ने राय व्यक्त गरकेो पाइन्छ।

होलीको अवसर पारेर संघीय सरकारले सोमबार र प्रदेस सरकारले मंगलबार सार्वजनिक विदाको घोषणा गरेको छ। 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *