इराक र सिरियाका विभिन्न स्थानमा अमेरिकी हवाइ हमला

यूएस सेन्ट्रल कमान्डले बी-१ बमवर्षक विमान उडेको भिडिओ फुटेज सार्वजनिक गरेको छ

काठमाडौं- अमेरिकाले इराक र सिरियामा ‘इरानसँग सम्बन्ध भएका’ भन्दै ८५ स्थानमा हवाइ हमला गरेको छ।

इरान समर्थित लडाकुहरूले गत आइतबार जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा गरेको हमलाको बदलामा यो आक्रमण गरेको पेन्टागनले पुष्टि गरेको छ।

इरान समर्थित लडाकुले गरेको आक्रमणमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो भने अन्य कैयौं घाइते भएका थिए।

अमेरिकाले इरानसँग द्वन्द्व नचाहेको दोहो¥याएको छ। यद्यपि राष्ट्रपति जो बाइडनले यस्ता आक्रमण जारी रहने चेतावनी दिएका छन्।

इरानको कुड्स फौज र त्यससँग सम्बन्ध भएको भनिएका मिलिसिया समूहहरूसँग सम्बन्धित नियन्त्रण केन्द्रहरू लक्षित आक्रमण भएको बताइएको छ।

सिरियाबाट प्राप्त विवरणअनुसार त्यहाँ २० जनाभन्दा धेरै इरानपक्षधर लडाकुको मृत्यु भएको छ भने अन्य कैयौं घाइते भएका छन्।

त्यहाँको सेनाले सर्वसाधारणहरू समेत मारिएको जनाएको छ।

इराक सरकारले आफ्नो भूमिमा भएको आक्रमणलाई इराकी सार्वभौमसत्ताको उल्लंघन भनेको छ। उसले सर्वसाधारणसहित कम्तीमा १६ जना मारिएको जनाएको छ।

इराकी प्रधानमन्त्रीले आफ्नो सरकारसँग समन्वय गरेर ती हमला गरिएको बताएका छन्। इराक सरकारले यो हमलाको उक्त क्षेत्रमा भयानक नतिजा देखापर्ने चेतावनी दिएको छ।

त्यस्तै इरानले आफूमाथि लागेका सबै आरोपहरूलाई आधारहीन भन्दै हमलाको निन्दा गर्ने क्रममा त्यसलाई रणनीतिक भूल बताएको छ।(बिबिसीबाट)

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *