आइपिएल २०२४ आजबाट, धोनीको कप्तानीविनै मैदानमा उत्रिनेछ चेन्नइ

जनकपुरधाम- क्रिकेटको महाकुम्भसमेत भन्ने गरिएको इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ आजदेखि सुरू हुँदैछ।

दक्षिण भारतको चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा आइपिएलको १७ औं संस्करण सुरू हुन लागेको हो।

उदघाटन खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नइ सुपर किङ्ग्स र रोयल च्यालेन्जर्स बैंङ्गलौरबीच नेपाली सयमअनुसार राति ८ः१५ बजे भिडन्त हुनेछ।

यसपालि चेन्नइको नेतृत्व महेन्द्रसिंह धोनीले गर्ने छैनन्। चेन्नइको कप्तानी गर्दै पाँचपटक उपाधि दिलाएका धोनी यो सिजनमा टिमको नेतृत्व नगर्ने घोषणा गरेका छन्।

उनको स्थानमा ऋतुराज गायकवाडलाई टिमको कप्तान तोकिएको छ।

चेन्नई सुपर किङ्ग्सले वक्तव्य जारी गर्दै भनेको छ,‘एमएस धोनी आगामी टाटा आइपिएल २०२४ का लागि कप्तानीको जिम्मा ऋतुराज गायकवाडलाई सुम्पिएका छन्। ऋतुराज साल २०१९ देखि टिमका सदस्य छन् र यस क्रममा उनले ५२ आपिएल खेलेका छन्।’

गायकवाडले अहिलेसम्म ६ एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेका छन्। जसमा उनले ११५ रन बनाएका छन्।

त्यस्तै टि–२० अन्तर्राष्ट्रिय खेलमा गायकवाडले ५ सय रन जोडेका छन्।

उनले सन् २०२० मा आपिएल डेब्यु गरेका थिए। २०२१ को सिजनमा गायकवाड सबैभन्दा बढी रन बनाउने ब्याटर थिए।

धोनीले कप्तानी नगर्ने भएपछि उनका समर्थकहरू निराश बनेका छन्। तर, खेलमा उनको भूमिका महत्वपूर्ण हुनेछ।

आइपिएलले पहिलो चरणमा १८ दिनको खेल तालिकामात्रै सार्वजनिक गरेको छ।

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरेर अप्रिल ७ सम्म हुने खेलको तालिकामात्रै सार्वजनिक गरिएको हो।

भारतमा आगामी १९ अप्रिलबाट जुन २१ सम्म लोकसभाको निर्वाचन हुँदैछ। त्यसपछि आइपिएलका बाँकी खेलहरू हुनेछन्।

६ नयाँ कप्तान

आइपिएलको १७ औं संस्करणमा ६ वटा टिम नयाँ कप्तानका साथ मैदानमा उत्रिँदैछन्।

नयाँ कप्तानले टिमलाई शिखरसम्म पु¥याउने र यसपालिको उपाधि हात दिलाउने विश्वास उनीहरूले लिएका छन्।

यसअघि गुजरातको नेतृत्व गरेका हार्दिक पान्ड्या यसपालि मुम्बइ इन्डियन्सको कप्तानका रूपमा मैदानमा उत्रिनेछन्।

पछिल्लो दुई सिजनमा पान्ड्याले गुजरातको सफल नेतृत्व गरे। र, पहिलोपटकमै उनले टिमलाई उपाधि दिलाए। दोस्रो सिजनमा उनले नेतृत्व गरेको गुजरात फाइनलमा चेन्नइसँग पराजित भयो।

पान्ड्या सफल कप्तानमात्रै नभएर उत्कृष्ट ब्याटर पनि हुन्।

आइपिएलको सबैभन्दा सफल कप्तान रोहित शर्माबाट उनले कप्तानी खोसेपछि हिटम्यानका लाखौं प्रशंसक निराश भएका थिए। रोहित अब पान्ड्याको नेतृत्वमा मैदानमा उत्रिने छन्।

पान्ड्या मुम्बइ टिमको सदस्य बनेपछि गुजरातको नेतृत्व अब शुभमन गिलले सम्हाल्ने भएका छन्।

२०२२ को आइपिएलमा १६ इनिङमा उनले ४८३ बनाएका उनी शीर्ष पाँच ब्याटरमा सामेल थिए।

२०२३ मा गिलले रनको पहडा बनाए र सर्वाधिक ८९० रन जोडे।

उनको यो प्रतिभालाई मध्यनजर गरी यसपालि गुजरातको नेतृत्व दिइएको हो।

दिल्लीका विस्फोटक ब्याटर र विकेटकिपर ऋषभ पन्त लामो समयपछि टिममा फर्किएका छन्।

पन्त एउटा खतरनाक कार दुर्घटनाका कारण खेलबाट टाढिएका थिए। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनी पछिल्लो आइपिएल खेल्ने मौका गुमाएका थिए।

तर, अदम्य हिम्मत र मिहिनेतपछि पन्तले विस्तारै अभ्यास सुरू गरे र यो सिजनभन्दा ठीक अगाडि फिट भएको घोषणा गरे।

टिम व्यवस्थापनले पन्तको हिम्मतको प्रशंसा गर्दै दिल्ली टिमको कप्तान घोषणा गरेको छ।

पछिल्लो केही समययता चोटसँग संघर्ष गरिरहेका श्रेयस अय्यर दिल्ली छाडेर कोलकत्तामा सहभागी भएका छन्।

अय्यर पछिल्लो सिजनमा नेतृत्व गरेका नितिस राणाको स्थान लिएका छन्।

कोलकत्ता टिममा गौतम गम्भीर पनि फिर्ता भएका छन्। पछिल्लो सिजनमा उनी लखनऊ टिमको मेन्टर थिए भने यसपालि कोलकत्तासँग हुनेछन्।

यो सबैका बीच हैदराबादले विश्व विजेता टिम अस्ट्रेलियको नेतृत्व सम्हालेका पैट कमिन्सलाई कप्तानीको जिम्मेवारी दिएको छ।

कमिन्स तीव्र गतिका राम्रो बलरमात्रै नभएर ब्याटिङ गर्ने क्षमता पनि राख्छन्। साथै उनको कप्तानीको अनुभव पनि हैदराबादका लागि सहयोगी साबित हुने अपेक्षा गरिएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *