सीतामढीमा जानकी मन्दिर निर्माणका लागि ५० एकड जग्गा अधिग्रहण गर्दै सरकार

जनकपुरधाम- भारत बिहारको सीतामढीस्थित पुनौराधाममा पूर्वाधार विकासका लागि बिहार सरकारले नयाँ योजना ल्याएको छ।

पुनौराधामलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न बिहार सरकारले नयाँ योजना ल्याएको हो।

बिहार सरकारले नयाँ योजना कार्यान्वयन गर्न जमीन अधिग्रहणका लागि स्वीकृति दिएको छ।

पुनौराधामलाई भारतले माता सीताको जन्मस्थली रहेको दाबी गर्दै आइरहेको छ।

बिहार मन्त्रिपरिषदले पुनौराधामको विकाससँग जोडिएका योजनाहरूलाई अगाडि बढाउन स्वीकृति प्रदान गरेको छ। राज्यको पर्यटन विभागले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृति दिएको हो।

बिहार सरकारले मन्दिर परिसर आसपासका क्षेत्रमा पूर्वाधार विकासका लागि ५० एकड जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको बताइएको छ।

सरकारको यो निर्णयप्रति बिहार राज्य धार्मिक न्यास बोर्ड आपत्ति जनाएको छ।

पर्यटन विभागले आफूहरूकोे अधिकार क्षेत्रमा हस्तक्षेप गरेको बोर्डका पदाधिकारीहरूको भनाइ छ।

यसअघि बिहार सरकारले मन्दिर परिसरको आसपास क्षेत्रको विकासका लागि १६.६३ एकड जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको थियो। अब भने त्यो क्षेत्रमा ५० एकड जग्गा अधिग्रहण गर्ने भइएको छ।

सीतामढीको पुनौराधाममा जानकी मन्दिर निर्माणका लागि मुख्यमन्त्री नितिश कुमारले यसअघि नै शिलान्यास गरिसकेका छन्।

उनले ७२.४७ करोड भारतीय रूपैयाँको लागतमा निर्माण हुने जानकी मन्दिरका लागि गत वर्ष शिलान्यास गरेका थिए।

तर, भारतीय जनता पार्टी (भाजपा) सँग गठबन्धन तोडेर नितिश नयाँ गठबन्धनमा आवद्ध भएपछि जानकी मन्दिर निर्माणको योजनाले गति लिन सकेको थिएन।

पछिल्लो समय उनी फेरि भाजपासँगकै गठबन्धनमा फर्किएपछि पुनौराधाममा जानकी मन्दिर पुनःनिर्माणले गति लिने बताइएको छ।

मन्दिर आसपासका क्षेत्रमा जग्गा अधिग्रहणको दायरा बढाउने निर्णय भएसँगै निर्माण कार्यका लागि बजेटसमेत थप हुनसक्ने सम्भावना बढेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *