‘सिटौलाले उम्मेदवारी दिनुहुन्छ, गठबन्धन कायमै रहन्छ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन कायमै रहने बताएका छन्।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

देउवाले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पनि अहिलेकै गठबन्धन रहने उल्लेख गरे।

बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन सकिने आफूले बताए पनि अहिले परिस्थिति भिन्न ढंगबाट अगाडि बढेको बताएका थिए।

उनले कांग्रेस महासमिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन नगर्ने, धर्मनिरपेक्षतालगायतका विषयमा आलोचना गरेका थिए।

सभापति देउवाले फरक पार्टी भएकाले आलोचना गर्न छुट भएको बताए।

उनले भने, ‘प्रचण्डले पनि अरू पार्टीको आलोचना गर्न पाउनुहुन्छ, हामीले पनि गर्छौं। गठबन्धन केही हुँदैन।’

देउवाले राष्ट्रियसभाका अध्यक्षको उम्मेदवार कांग्रेसका तर्फबाट सिटौला नै उम्मेदवार रहने बताए।

उनले अर्को निर्वाचनसम्म यही गठबन्धन रहने समेत उल्लेख गरे।

राष्ट्रियसभा अध्यक्षका लागि माओवादी केन्द्रले एमालेलाई सहयोग गर्न आग्रह गरेको छ भन्ने पत्रकारको प्रश्नमा देउवाले भने,‘यो विषयमा मलाई जानकारी छैन।’

राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेस र माओवादी केन्द्रले दाबी गरेपछि सत्ता गठबन्धन टुट्नसक्ने आशंका गर्न थालिएको बेला देउवाले गठबन्धन यथावत रहने दाबी गरे।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *