जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले सत्तापक्षले सदन अवरूद्ध गरेको बताएका छन्।
पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रमका लागि शुक्रबार जनकपुरधाम आएका निधिले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
संसदीय छानबिन समिति बनाउने संसदको नियमावली मिचेर सरकारले सदनमा अवरोध सिर्जना गरेको उनको भनाइ छ।
‘हामीले संसदीय छानबिन समिति बनाउन माग गरेका छौं, कुनै पनि विषयमा छानबिन गर्न संसदीय समिति बनाउनसकिने प्रावधान प्रतिनिधिसभा नियमावलीले गरेको छ,’ निधिले भने,‘संसदको त्यो अधिकार प्रयोग होस् भन्ने हामी चाहन्छौं। सत्तापक्षले त्यो अधिकार प्रयोग गर्न दिएको छैन। संसदीय प्रक्रिया जसले रोकेको छ उसले सदनमा अवरूद्ध गरेको हो।’
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाएरमात्र सदनको अवरोध अन्त्य हुने उनले बताए।
निधिले मुलुकका विभिन्न ठाउँमा भएका सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्ने प्रहरी अनुसन्धानबाट खुलेको र प्रमाणहरू समेत फेला परेकाले संसदीय छानबिन समिति बनाउनुको विकल्प नभएको प्रष्ट पारे।
‘रुपन्देही, पोखरालगायतका सहकारीमा भएका ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्ने प्रहरी अनुसन्धानबाटै खुलिसकेको छ, प्रमाण फेला परेका छन्, अखबारहरूमा आएका छन्,’ पूर्वउपप्रधान एवंं गृहमन्त्रीसमेत रहेको निधिले भने,‘यो विषयको छानबिन हुने कि नहुने? संसदीय समिति बनाउन सरकार बाधक बनिरहेको छ। बाधक बन्नेले सदनलाई अवरूद्ध पारेको हो।‘
उनले तत्काल नयाँ राजनीतिक गठबन्धन बन्ने कुनै सम्भावना नभएको उल्लेख गरे।
Leave a Reply