सपथग्रहण समारोहमा सहभागी हुन प्रचण्डलाई मोदीको निम्तो

जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निम्तो पठाइएको छ।

सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निम्तो पठाइएको अधिकारीहरूले बताएका छन्।

भारतमा सत्तारुढ एनडिए गठबन्धनको नेतृत्व गर्दै तेस्रोपटक प्रधानमन्त्री बन्न लागेका मोदीले बुधबार प्रधानमन्त्री प्रचण्डसँग टेलिफोनवार्ता गरेका थिए।

टेलिफोनवार्ताका क्रममा प्रधानमन्त्री मोदीले प्रचण्डलाई सपथग्रहण समारोहमा सहभागी हुनका लागि आमन्त्रण गरेको बुझिएको छ।

मोदीको सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली गए यो कार्यकालमा प्रधानमन्त्री प्रचण्डको दोस्रो भारत भ्रमण हुनेछ।

त्यो कुराकानीपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘न्यानो शुभकामनाका लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो तथा बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौं।’

सन् २०१४ मा मोदीले पहिलोपटक प्रधानमन्त्रीको सपथ लिँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन कुराकानी भएको र सपथग्रहणमा सहभागी हुने विषयमा सल्लाह भइरहेको बताएका छन्।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले पनि सपथग्रहणमा प्रधानमन्त्रीको सहभागिताबारे छलफल चलेको बताएका छन्।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले मोदीको आमन्त्रणलाई स्वीकार गर्नेबारे निर्णय लिने बताए।

उनका अनुसार प्रधानमन्त्री प्रचण्ड शुक्रबार दिल्लीका लागि प्रस्थान गर्ने सम्भावना छ।

प्रधानमन्त्री मोदीले यसपटक बंगलादेश, भुटान, नेपाल र मोरिससका नेताहरूलाई आफ्नो सपथग्रहणमा निम्तो दिन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *