संसद बैठक : क्याम्पस प्रमुख कुशवाहा हत्या घटना छानबिन गर्न माग

जनकपुरधाम- बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहालाई गोली हानी हत्या गरिएको घटना छानबिन गर्न माग गरिएको छ।

प्रतिनिधिसभा बैठकमा क्याम्पस प्रमुख कुशवाहा हत्याको छानबिन गर्न माग गरिएको हो।

आइतबार बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले क्याम्पस प्रमुख कुशवाहा हत्या घटनाको छानबिन गर्न माग गरे।

एकपछि अर्को गरी आपराधिक घटना भइरहेको भन्दै उनले शान्ति सुरक्षा प्रभावकारी बनाउन सरोकारवाला निकायलाई ध्यानाकर्षणसमेत गराए।

क्याम्पस प्रमुख कुशवाहाको गत शुक्रबार साँझ गोली हानी हत्या भएको थियो।

मोटरसाइकल चढेर आएका दुई जना व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए। कुशवाहाको उपचारका क्रममा बीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो।

गत असोजमा कलैया चोकमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ र गत भदौमा बाराकै पचरौता नगरपालिकामा भारतीय नागरिकलाई नेपाल ल्याएर गोली हानी हत्या भएको थियो।

सांसद मैनालीले खुला सीमा तथा हातहतियारको ओसारपसारका कारण सीमा क्षेत्रका बासिन्दा असुरक्षित बन्दै गएको बताए।

मधेसमा राजनीतिक आवरणमा हत्या र हिंसा बढी रहेको उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले पनि क्याम्पस प्रमुख कुशवाहाको गोली प्रहार गरी हत्या भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरे।

मधेस प्रदेसमा गत सातामात्रै चार जनाको गोली हानी हत्या भएको बताउँदै उनले अपराधका घटना छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई ध्यानाकर्षण गराए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *