लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा

दाङ- लुम्बिनी प्रदेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्।

प्रदेससभाबाट विश्वासको मत पाउने सम्भावना नदेखेपछि चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्।

लुम्बिनी प्रदेससभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरे।

सत्ता साझेदार दल माओवादी केन्द्रले २३ चैतमा समर्थन फिर्ता लिएपछि चौधरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

बहुमत जुटाउने नसक्ने अवस्था रहेपछि विश्वासको मत लिने योजनाबाट पछि हट्दै प्रदेससभा बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री चौधरीले राजीनामा दिएको घोषणा गरेका थिए।

गत वैशाख १४ गते ८ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए।

८७ सदस्यीय प्रदेससभा राप्रपाका एक सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ। बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ।

नयाँ राजनीतिक समीकरणको आधारमा प्रदेसमा एमाले, माओवादी, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउनेगरी बहुमत सदस्यको हस्ताक्षर प्रदेस प्रमुखसमक्ष बुझाउने तयारी गरेका छन्।

प्रदेससभामा एमालेका २९, माओवादीका (सभामुखबाहेक) १०, जसपा ३, एकीकृत समाजवादीका १ र एक जना स्वतन्त्र सांसद गरी ४४ जनाको साथ छ।

यस्तै प्रदेससभामा कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपाका ३, लोसपाका ३, जनमतका ३ र राष्ट्रिय जनमोर्चाका १ जना प्रदेससभा सदस्य छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *