जनकपुरधाम- धनुषामा घाँटी रेटेर एक युवकको हत्या भएको छ।
धनुषाको जनकनन्दनी गाउँपालिका–२ बल्हामा युवकको घाँटी रेटेर हत्या भएको हो।
स्थानीय अब्दुल करिम नदाफको १८ वर्षीय छोरा कैफ नदाफको हत्या भएको प्रहरीले जनाएको छ।
चक्कुल घाँटी रेटेर घाइते भएका कैफ भागेर घटनास्थलबाट करिब ४०–५० मिटरको दूरीमा रहेको घर पुगेका थिए। आफन्तले उपचारका लागि उनलाई भारत लगेका थिए।
उपचारको क्रममा उनको भारतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।
घटनामा संलग्न भएको आरोपमा स्थानीय २० वर्षीय सहमद नदाफ र २२ वर्षीय जासिम नदाफसहित दुई जनालाई पक्राउ गरिएको उनले बताए।
प्रहरीका अनुसार सहमद र जासिमले फोन गरेर कैफलाई बुधबार राति करिब साढे १० बजेतिर नेपाल–भारत सीमानजिकै रहेको स्थानीय ठगना भन्ने व्यक्तिको आँप बगैचामा बोलाएका थिए।
रोजा ब्रत सकिएर बगैचामा बसेर तीनै जनाले बियर खाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
बियरको पैसा र कैपको मोबाइलमा भएको एक भिडियाको विषयमा उनीहरूबीच विवाद भएको डिएसपी अवाले बताए।
विवादकै क्रममा सहमद र जासिमले चक्कुबाट कैफको घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ।
‘रोजाको ब्रत सकिएपछि तीनै जना आँपको बगैँचामा पुगेर बियर खान्छन्, पैसा र मोबाइलमा भएको भिडियोका लागि उनीहरूबीच विवाद हुन्छ,’ उनले भने,‘त्यसै क्रममा दुई जना मिलेर कैफको घाँटी रेट्छन्। उनी भागेर घर पुग्छन्। आफन्तले उपचारका लागि भारत लग्छन्। उपचारकै क्रममा उनको मृत्यु हुन्छ।’
अवाका अनुसार कैफका आफन्तले घटनाबारे प्रहरीलाई राति २ बजे जानकारी गराएका थिए।
घटनामा संलग्न भनिएका दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जनाएको छ।
Leave a Reply