बालेनको आरोप : गिरीबन्धु टि–स्टेटको जग्गा घोटालामा ओलीको हात

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले झापाको गिरीबन्धु टि–स्टेट जग्गा घोटालामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हात रहेको आरोप लगाएका छन्।

न्यूरोडमा महानगरपालिकाले बनाउन लागेको फुटपाथ निर्माण रोक्न लगाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक बनाउन थालेपछि बालेनले यस्तो आरोप लगाएका हुन्।

गिरीबन्धु टि–स्टेट जग्गाको १० हजार करोडको कान्ड लुकाउन र जनतालाई भुलाउन न्यूरोडमा आफूहरूले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन लागिएको उनले बताएका छन्।

‘यही १० हजार करोडको कान्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थाल्नु भएछ,’ एमाले अध्यक्ष ओलीतर्फ इंगित गर्दै सामाजिक सञ्जालमा बालेनले लेखेका छन्।

गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं’ भनेर ओलीले थमाएको उनको आरोप छ।

बालेनले भनेका छन्,‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउनुहोला माननीय केपी ओलीज्यू, झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’

मेयर बालेनले आफ्ना कर्तुत लुकाउन विषयान्तर गर्ने काम भएको बताएका छन्।

‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल–चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं,’ बालेनले भनेका छन्।

उनले गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्न अनुरोध गर्दै फाइल खुल्नसक्ने चेतावनी दिएका छन्।

बालेनले भनेका छन्,‘अनि समयमै गिरीबन्धुमा पीडितको बैन फिर्ता गर्नुहोला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएकै हो। धन्यवाद।’

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *