चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी सिआइबीले दियो सभामुखलाई

काठमाडौं- प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बाँसबारी छाला जुत्ता जग्गा प्रकरणका विषयमा चौधरीमाथि छानबिन भइरहेको जानकारी सभामुख घिमिरेलाई गराएको हो।

अनुसन्धान अधिकृत एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले पत्रमार्फत उद्योगपतिसमेत रहेका कांग्रेस सांसद चौधरीमाथि सिआइबीले अनुसन्धान गरिरहेको जानकारी गराएका हुन्।

पत्रमा काठमाडौं महानगरपालिका–३ को कार्यालय र नवराज शर्मासमेतको जाहेरीले ‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा सांसद चौधरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढेको’ उल्लेख छ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरीसहितले गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा हस्तान्तरण गर्न लगाएको आरोप छ।

‘वादी नेपाल सरकार र प्रतिवादी अजितनारायण सिंहसमेत भएको बाँसबारी छालाजुत्ता कारखानाको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरी सरकारी जग्गा किर्ते र ठगी गरेको मुद्दामा संस्थापन सेयर धनी संघीय संसदका माननीय सदस्य विनोद चौधरीका सम्बन्धमा अनुसन्धान भइरहेको ब्यहोरा जानकारी गराइन्छ’ पत्रमा उल्लेख छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *