गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसले दियो अल्टिमेटम

काठमाडौं- नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले आगामी बैठकसम्म संसदीय छानबिन समिति गठन गर्न माग गरिन्।

अर्को बैठकसम्म संसदीय छानबिन समिति गठन नभए कांग्रेसले संसद चल्न नदिने उनले चेतावनी दिएकी छन्।

प्रधानमन्त्रीले सहकारी ठगीमा गृहमन्त्रीविरूद्ध प्रमाण नरहेको बताए पनि आफूहरूसँग यथेष्ट प्रमाण रहेको उनले बताइन्।

आगामी बैठकसम्म संसदीय समिति गठन नभए सदन सत्तापक्षले अवरोध गरेको ठहर हुने न्यौपानेको भनाइ छ।

‘आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले हैन, उहाँहरूलाई सदन चाहिएको रहेनछ, जनताको काम चाहिएको रहनेछ भन्ने हामीले बुझ्ने छौं,’ उनले भनिन्।

गृहमन्त्रीले ‘प्रतिपक्षले चार वर्ष सदन अवरूद्ध गरोस् हामी सरकार चलाइरहन्छौं’ भनेकोप्रति पनि उनले आपत्ति जनाइन्।

बजेटको छलफलको विषयमा आफूहरूले सदन अवरूद्ध नगर्ने बताउँदै उनले छानबिन समिति गठन गर्न किन डराउनुपर्‍यो भनेर प्रश्न गरिन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *