जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
कांग्रेस पार्टीका भातृ एवं शुभेच्छुक संस्थाले देशका विभिन्न भागमा विविध कार्यक्रम गरी कोइरालाको स्मृति दिवस मनाउन लागेको हो।
देशमा जारी माओवादी सशस्त्र द्वन्द्व अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गीय कोइरालाको योगदानलाई स्मरण गर्दै कार्यक्रम हुन लागेका हुन्।
कोइरालाले सशस्त्र द्वन्द्वमा लागेका समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
२०५९ असोल १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको आस्था घटेको थियो।
त्यसपछि भएका आन्दोलनको नेतृत्व कोइरालाले नै गरेका थिए।
२०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैं मन्त्रिपरिषद अध्यक्ष बनेपछि कोइरालाले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याएर पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए।
पूर्वप्रधानमन्त्री कोइरालाकै नेतृत्वमा २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरूप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए।
आन्दोलनको सफलतापछि उनी चौथोपटक मुलुकको प्रधानमन्त्री बनेका थिए।
पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ््कारिक राजाका रूपमा ज्ञानेन्द्रलाई सीमित गरेको थियो।
कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो।
उनकै नेतृत्वमा ६ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापनक नेता बिपी कोइरालाको सपना पूरा भएको थियो।
चारपटक मुलुकको प्रधानमन्त्री भएका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए।
उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास भएको शाह वंशीय राजसंस्थाको अन्त्य भइ नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो।
Leave a Reply