कोसीमा उलटफेर

जनकपुरधाम- कोसी प्रदेसका प्रदेस प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

उनले आगामी वैशाख २८ गते अपराह्न ५ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राजनीतिक दलहरूलाई आह्वान गरेका हुन्।

प्रदेस प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको प्रदेस प्रमुखको कार्यालयले जनाएको छ।

संविधानको धारा १६९ को उपधारा ५ मा ‘उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेससभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेस प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ उल्लेख छ।

यसअघि नेपाली कांग्रेस प्रदेस संसदीय दलका नेता केदार कार्की पनि संविधानको यही धाराबमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए।

कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन ५२ जना सांसदहरूले फिर्ता लिएको, प्रदेससभा बैठकले संकल्प प्रस्ताव पारित गरी ३० दिनभित्र विश्वासको मत लिन आग्रह गरेको र वैशाख २५ गते (३० दिनभित्र) विश्वासको मत नलिएको आधारमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको जनाइएको छ।

तर, कोसी प्रदेसमा सरकार गठनका लागि प्रदेस प्रमुखबाट भएको आह्वानप्रति कांग्रेसले आपत्ति जनाएको छ। बहालवाला मुख्यमन्त्रीले राजीनामा नदिँदै नयाँ सरकार गठनका लागि आह्वान भएकोमा उसले आपत्ति जनाएको हो।

उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेससभालाई विघटन गरी ६ महिनाभित्र अर्को प्रदेससभाको निर्वाचन सम्पन्न हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने व्यवस्था संविधानमा छ।

‘उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेस प्रमुखले प्रदेससभालाई विघटन गरी ६ महिनाभित्र अर्को प्रदेससभाको निर्वाचन सम्पन्न हुनेगरी निर्वाचन मिति तोक्नेछ,’ उपधारा ७ मा भनिएको छ।

विपक्षी दलहरू नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आह्वान गर्न बुधबार प्रदेस प्रमुख खापुङलाई ज्ञापनपत्र बुझाएका थिए।

यता कोसी प्रदेस सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले नयाँ सरकार गठनका लागि भएको आह्वानविरूद्ध कानुनी उपचार खोज्न अदालत जाने बताएका छन्।

नयाँ सरकार गठनका लागि आह्वान भएसँगै एमाले र माओवादी केन्द्रले बिहीबार नै दाबी पेस गर्ने तयारी गरेका छन्।

नयाँ सरकार गठनका लागि प्रदेस सांसदहरूलाई उपस्थित गराइने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताएका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *