काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ।
चैत १५ गते सञ्चालन हुने एसइईको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो।
परीक्षाका लागि यस वर्ष देशभर २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले २७ चैतसम्म सञ्चालन हुने परीक्षाका लागि यो संंख्यामा परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिएका छन्।
उनका अनुसार यस वर्ष देशभरबाट करिब ५ लाख विद्यार्थी एसइईमा सहभागी हुँदैछन्।
यस वर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए।
परीक्षाका लागि प्रत्येक विषयको ५ लाख प्रश्नपत्र छापिसकेको बोर्डले जनाएको छ।
५ लाख ४ हजार ४१४ जनाले परीक्षा फारम भरे पनि केही विद्यार्थीको संख्या घट्नसक्ने बोर्डको भनाइ छ।
परीक्षाका लागि प्रश्नपत्रहरू देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकिएको र काठमाडौं जिल्लामा परीक्षाको अघिल्लो दिनमात्रै पठाइने छ।
परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री बोर्डको कार्यालयले प्रदेसमा पठाइसकेको छ।
परीक्षाका लागि चाहिने आवश्यक बजेट सातवटै प्रदेसअन्तर्गतका सामाजिक मन्त्रालयले व्यवस्थापन गर्नेछ।
नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीलय यस वर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन्।
प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक/एक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, १५० देखि २ सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाउने तयारी बोर्डले गरेको छ।
परीक्षा केन्द्रको आवश्यक्ताअनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट २०७८ पुस ७ गते लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो। यसवर्षको परीक्षामा बोर्डले लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू गरेको जनाएको छ।
विगतमा सैद्धान्ति र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकोमा यस वर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलोटक एसइई नतिजामा विद्यार्थीले सैद्धान्तिकमा कम्तिमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
बोर्डका अनुसार ३५ प्रतिशतभन्दा कम अंंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनःमौका परीक्षा दिनुपर्ने हुन्छ।
३५ प्रतिशत अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।
विद्यार्थी तीनपटकसम्म दुई विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्।
Leave a Reply