अयोध्या-जनकपुरधाम रेल सञ्चालन गर्ने भारतको तयारी

जनकपुरधाम- भारतको रामजन्मभूमि अयोध्याबाट जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालन गर्ने तयारी थालिएको छ।

भारतीय रेलले अयोध्याबाट जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालनको तयारी थालेको हो।

अयोध्याधामबाट गोरखपुर हुँदै जनकपुरधामसम्म पुग्ने गरी रेल सेवा सञ्चालन गर्ने तयारी थालिएको भारतीय रेल्वे बोर्डले जनाएको छ।

बोर्डले प्रारम्भिक रूपमा पूर्वोत्तर र उत्तर रेल्वेलाई समयतालिका पठाउन निर्देशन दिएको बताइएको छ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीबाट निर्वाचित गोखरपुरका सांसद रवि किसनले रेलमन्त्री अश्वनी वैष्णवलाई पत्र लेखेर अयोध्याबाट गोरखपुर हुँदै जनकपुरधामसम्म रेल सेवा सञ्चालन गर्न माग गरेका थिए।

भारतमा लोकसभा निर्वाचन सम्पन्न भएसँगै रामायण सर्किटका दुवै तीर्थ स्थललाई जोड्ने यो रेल सेवाको घोषणा हुने बताइएको छ।

अटलबिहारी बाजपेयी प्रधानमन्त्रीको कार्यकालमा भारतबाट पाकिस्तानसम्म रेल सञ्चालन भए पनि दुवै देशबीच उत्पन्न तनावका कारण पछिल्लो समय यो सेवा बन्द भएको छ।

अयोध्याबाट जनकपुरधामसम्म सोझै रेल सेवा सञ्चालन भए भारतबाट छिमेकी मुलुकसम्म सोझै पुग्ने यो दोस्रो रेल सेवा हुनेछ।

सोझै रेल सेवा सञ्चालनमा आए जनकपुरधाम र अयोध्याबीच रहेको पारम्परिक र धार्मिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने विश्वास लिइएको छ।

जनकपुरधाम र अयोध्याबीच सोझै रेल सेवाका साथै हवाइ उडानको अनुमतिका लागि पटकपटक माग उठ्ने गरेको छ।

दुवै स्थानबीच हवाइसेवा सञ्चालन भए जनकपुरधाम र अयोध्याबीचको दूरी झनै छोटिनेछ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधाम–अयोध्या बस सेवाको उदघाटन गरे पनि हाल यो बन्द अवस्थामा छ।

अयोध्यामा राम मन्दिर निर्माण भएर प्राणप्रतिष्ठा भएयता जनकपुरधाम र अयोध्याबीच बस सेवा सञ्चालन गर्न पनि माग उठिरहेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *